धरान: प्रेस स्वतन्त्रता हनन् भएको भन्दै धरानमा सुनसरीका पत्रकारहरुले मौन जुलुस निकालेका छन् ।

नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा सोमबार बिहान पत्रकारहरुले मौन जुलुस निकालेका हुन् । भानुचोकमा शुरु भएको जुलुस छाताचोक हुदै धरान उपमहानगरपालकाको मुलगेटमा पुगेर समापन भएको थियो । पत्रकारहरुको जुलुसमा धरानका विभिन्न राजनीतिक दलका नेताहरुले पनि सहभागिता जनाउदै आन्दोलनप्रति ऐक्यवद्धता जनाएका थिए । ब्यानर र नारा लेखिएको प्ले कार्डसहित पत्रकारहरु जुलुसमा सहभागी भएका थिए ।

पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईले मेयर हर्क साम्पाङले शुरुवातदेखि पार्टीको पत्रकार, झोले पत्रकार भन्दै पत्रकारहरुप्रति धावा बोलिरहेको र पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुरक्षा थ्रेटसमेत भएकोले आन्दोलनमा उत्रनुपरेको बताए । ‘पत्रकारले प्रश्न सोध्दा तिमी कुन पार्टीको भन्नेसम्मको दुश्साहस गर्नुभयो । पत्रकारले प्रश्न गर्न नपाउने हो त ? त्यो प्रेस स्वतन्त्रता विरोधी हो,’उनले भने,‘महासंघका पुर्वअध्यक्ष केशव घिमिरले बोलेको कुरालाई पुष्ट्याई माग गर्नु ठिक छ, तर फेसबुकबाट माग्ने त होइन होला, विधि र प्रक्रिया छ । महासंघसँग समन्वय गर्नुहुन्थ्यो होला, अथवा तिक्ततापुर्ण नै हो भने पनि कानुनीरुपमा जानसक्नुहुन्थ्यो । तर, उर्दी जारी गर्नुभयो, जुन पञ्चायतीकालमा मात्र थियो ।’

press1

फेसबुकमा नाम तोकेर बोलाएको छु भनेर पोष्ट गर्दा आफ्ना फ्लोअर्सहरुलाई उक्साएर असुरक्षाको वातावरण बनेकोले सुरक्षा माग गर्दे सिडिओमार्फत गृहमन्त्रीसम्म पुग्नुपरेको पनि अध्यक्ष राईले बताए । वरिष्ठ पत्रकार हर्ष सुब्बाले स्थानीय सरकारले स्थानीयस्तरका सञ्चारमाध्यम, पत्रकारहरुको हितको लागि प्रतिवद्धता जनाउनुपर्नेमा त्यसविपरीत कार्य भएको बताए । उनले सञ्चार ऐन बनाएर संरक्षण, हित र सञ्चारमाध्यमको विकासको कुरा व्यवस्थित गर्न पनि मेयर साम्पाङलाई सुझाव दिए ।

press 1

‘४ दिनसम्म आन्दोलन हुँदा युट्युबबाट मात्र आफ्नो भनाई राख्नुहुन्छ । महासंघ पदाधिकारीहरु छन्, हामी सिनियर पत्रकारहरु छौं, मध्यस्थता गर्न तयार छौं, तर टेवल टक गर्न बोलाउनु भएको छैन । यसले उहाँको नेतृत्व क्षमता देखिन्छ नि,’सुब्बाले भने,‘प्रतिनिधिमुलुक पत्रकार महासंघलाई बोलाएर माग कसरी सम्बोधन गर्नुपर्छ भनेर सल्लाह लिदा दिन्छौं नि । हाम्रो आन्दोलन विसुद्ध सञ्चारमाध्यम, पत्रकारहरुको हित, अभिव्यक्ति र प्रेस स्वतनत्राको लागि हो ।’

भिडियो: