विराटनगर: कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान र राजस्व सङ्कलनमा सङ्कुचन आएको दृष्टान्त प्रस्तुत गर्दै सोही अनुसार आगमी योजनाहरु निर्माण गर्न योजना आयोगले ध्यान दिनुपर्ने कुरामा जोडदिए । 

पुरानो १ नं प्रदेशको रुपमा रहेको कोशी प्रदेशले आगमी दिनमा आफ्ना कामले पनि एक नं सावित गर्नुपर्ने चुनौती रहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई साकार बनाउन उपाध्यक्ष उप्रेतीको भुमिका प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको पनि मुख्यमन्त्री कार्कीले बताए । 

नवनियुक्त उपाध्यक्ष डिल्लीराम उप्रेतीले स्थानीय स्रोत साधान र स्थानीय अर्थतन्त्रको व्यवस्थापन गर्दै योजनाहरु निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड दिने बताए । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका उप्रेती त्रिभूवन विश्व विद्यालयको पूर्व रजिष्ट्रार पनि हुन् ।