धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित हिमाली माविमा विद्यार्थी संख्या खचाखच छन् तर विद्यालयमा आवश्यक शिक्षक दरबन्दी र कक्षा कोठाको भने अभाव छ । 

भर्खरै निवार्चित विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई विद्यार्थी संख्या अनुपातको शिक्षक दरबन्दी र कक्षा कोठा कसरी बनाउने भन्ने चुनौती छ । विद्यालयका प्रध्यानाध्यापक एमकुमार खत्रीका अनुसार गत शैक्षिक सत्रमा ८६६ जना विद्यार्थीहरु भर्ना भएका थिए । यो विद्यालयमा अधिकांश गरिब तथा निम्न आर्थिक अवस्था भएका परिवारबाट विद्यार्थीहरु पढ्न आउछन् । शिक्षक दरबन्दी भने ११ जना मात्र छन् । आफ्नै राम्रो आयस्रोत नभएको विद्यालयले शिक्षक र कर्मचारी गरि १८ जना निजी स्रोतबाट राख्नुपरेको प्रअ खत्रीले बताए । उनले भने, ‘विद्यालयको आम्दानी छैन, जसोतसो निजी स्रोतबाट १८ जना शिक्षक, कर्मचारी राखेका छौं । विद्यालयले बर्षको २५ हजार मात्र मसलन्द खर्च पाउछ, त्यसले कसरी विद्यालय चलाउने ?’

विद्यालयमा बाल कक्षामा मात्रै १ सय जना विद्यार्थी छन् । बालकक्षाको लागि २ वटा मात्र कोठा भएको भवन छ । त्यही २ वटा कोठालाई पार्टेसन गरेर ४ वटा बनाई बालकक्षा सञ्चालन गर्नुपरेको प्रअ खत्रीले बताए । ‘कक्षा कोठा अभावले २ वटा कोठालाई ४ वटा बनाएर प्रि नर्सरी, नर्सरी, एलकेजी र युकेजी भनेर पढाइरहेका छौं,’उनले भने । यस्तै, अर्को भवनमा ४ वटा कोठालाई पनि पार्टेसन गरेर ८ वटा बनाई कक्षा सञ्चालन गर्नुपरेको उनले बताए । ‘स्कुलको भौतिक अवस्था यस्तो भएपनि यहाँबाट एसईई पास गरेका विद्यार्थीहरु प्लस टु पढ्न जाँदा अन्यत्र टप पोजिसनमा आउका छन्, पढाई राम्रो छ,’प्रअ खत्रीले भने,‘हामी कहाँ नर्सरीदेखि नै नेपाली र अंग्रेजी माध्यमबाट अलग अलग कक्षा पढाई हुन्छ ।’ बालकक्षामा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सागग्रीको अभाव रहेको पनि उनले बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक घिसिङले समिति भर्खर निवार्चित भएर आएपनि विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि पहल शुरु भइसकेको बताए । ‘भवन निर्माणको लागि, गुणस्तरीय पढाईको लागि काम थालिसकेका छौं । सहयोगी दाता र सबैलाई हाम्रो स्कुललाई साथ सहयोगको लागि पनि अनुरोध पनि गछौं,’उनले भने,‘हिमाली माविलाई नमुना विद्यालय बनाउने अभियानमा छौं ।’

४ कोठे भवनको शिलान्यास

himali skul1

विद्यालय परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट ४ कोठे पक्की भवन निर्माण हुने भएको छ । उक्त भवनको मंगलबार उपप्रमुख अइन्द्रबिक्रम बेघाले शिलान्यास गरेका छन् ।

उपप्रमुख बेघाले भवन गुणस्तरीय निर्माण गर्न सबै पक्षले नियमित निगरानी गर्न आग्रह गरे । भवनसँग विद्यालयको भविष्य, विद्यार्थीहरुको भविष्य र मुलुककै भविष्य जोडिएको उनले बताए । यो भवन राष्ट्रपति सुधार कार्यक्रमको ४५ लाख र उपमहानगरबाट ३० लाख थपेर टेण्डर भएको हो । भवनको लागत स्टिमेट ७६ लाख रहेको थियो । 

वडा नं ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुले आफुहरु निवार्चित भएर आएदेखि विद्यालय सुधार गर्न भवनको आवश्यकता देखेर पहल गरेको बताए । शिक्षा मन्त्री अशोककुमार राईलाई थप १६ कोठे भवनको माग पेश गरिएको पनि उनले बताए । ‘यहाँ विद्यार्थी संख्या धेरै छ, विपन्न विद्यार्थीहरु आउछन् । शिक्षक दरबन्दी थोरै छ, निजी शिक्षकहरुलाई थोरै पैसामा राख्नुपरेको छ । राज्यले हेर्नुपर्छ,’वडाअध्यक्ष लिम्बुले भने । 

भिडियो: