धरान: प्रदेश न १ का पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नाम दुई बर्ष अगाडि नै जर्बजस्ती कोशी राख्ने तयारी भएको तर आफुले त्यसबेला रोकेको दाबी गरेका छन् । 

किरात राई यायोक्खा १ नम्बर प्रदेश समितिको आयोजनामा आज इटहरीमा भएको ’प्रदेश स्तरीय साकेला उभौली २०८०’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री राईले यो कुरा बताएका हुन् । उनले त्यसबेला जबरजस्ती कोशी नाम ल्याउन खोजेपछि आफुले संसद भंग गर्दिने चेतावनी दिएपछि रोकिएको पनि दाबी गरे । 

‘जबरजस्ती कोशी नाम ल्याउन खोजी रहेका थिए, मैले जबरजस्ती गर्नुहुन्छ भने म संसद भंग गर्दिन्छु भने’ मुख्यमन्त्री राईले भने ’क्याबिनेट बैठक राखेर संसद भंग गर्ने प्रस्ताब लान नसकुला तर बाटोमा भेटेको चुरोटको खोलमा लेखेर भएपनि प्रदेश प्रमुख समक्ष पुर्याएर ससद भङ गर्दिन्छु भनेपछी मात्र कोशी नाम प्रस्ताब पछी हटेको हो  ।’

पहिचानका आधारमा नामाकरणको लागि आफुले प्रस्ताव गरेको पनि राईले बताए । आफ्नो प्रस्ताव अस्विकार गरिएको भन्दै उनले कुनै पनि हालतमा पहिचानको आधारमा किरात जोडेर प्रदेशको नामाकरण गरिने उनको दाबी थियो ।