धरान: पिउने पानी नपाएर धराने जनता अहिले काकाकुल अवस्थामा छन् । दिनहुँ पानी माग्दै उपमहानगरपालिका धाइरहदा मेयर हर्क साम्पाङ भने खडेरीले मुहान सुकेको र चारकोशे जंगलको भुमिगत स्रोतमा पनि पानीको लेवल घटेको, लोडसेडिङले पम्प चलाउन नपाएको भन्दै जनतालाई सम्झाइरहेका छन् ।

बर्षाको बेला धरानको सर्दु, खर्दु, निशाने, तामाखामलगायत सतहको स्रोतबाट नै पर्याप्त पानी आपूर्ति हुन्छ । फागुन, चैत, बैशाख र जेठ महिनामा खोला सुक्ने भएकोले विकल्पमा चारकोशे जंगलमा बोरिङ गरेर भुमिगत स्रोत व्यवस्थापन गरिएको छ । मेयर साम्पाङले उक्त भुमिगत स्रोतको पानीको लेवल घटेको बताइरहदा शुक्रबार धरानमा आयोजित एक कार्यक्रममा भने जंगलको भुमिगत स्रोतमा प्रशस्तै पानी भएको दाबी गरिएको छ । 

नेवार एकता समाजले खानेपानी समस्या अभाव कि वेवास्ता ? बिषयक अन्तरक्रियामा भिडियो रिपोर्ट प्रस्तुत गर्दै चारकोशे जंगलको भुमिगत स्रोतमा प्रशस्तै पानी भएको तर मेयर साम्पाङले त्यतातिर ध्यान नदिएको उल्लेख छ । ‘मुहानमा पानी छैन, तर जंगलमा के कस्तो अवस्था छ भनेर हेर्न गयौं । भुमिगत स्रोतमा पानी पर्याप्त रहेछ,’आयोजक संस्थाको अध्यक्ष महेश श्रेष्ठले भने,‘कर्मचारीहरुले नै भनेका छन् कि ४, ५ वटा वेल गाड्ने हो भने पानी आउछ, किन मेयर भौतारिरहेका छन् भनेर ।’

श्रेष्ठका अनुसार २४ बर्षसम्म सेवा दिएको एउटा वेल ६,७ बर्षदेखि बन्द भए पनि लाइट बालेर हेर्दा भित्र प्रष्टसँग पानी देखिन्छ । यस्तै, ट्रंक लाइन फुटेर पानी बगेर खेर गइरहेको बेला पानी लेवल कम भएर पानी सुक्यो भन्नु सही नभएको उनले बताए । ‘मुहान सुक्यो भन्दैमा तलको पानी त सुकेको रहेनछ । वेलहरु चलाउन ठिक्क पारेको छ, २० लाख लिटर प्रतिदिन पानी उत्पादन गर्छ, त्यो पनि चलाएको छैन,’उनले भने,‘२ वटा कनेक्टर बिग्रेको कारणले १७ लाख लिटर प्रतिदिन पानी नपाइरहेको रहेछ । कर्मचारी नहुदा पावर अन नगरिदिदा मोटर नचलेर धरानलाई आउने २० लाख लिटर आउने पानी बन्देज भएको रहेछ । समग्रमा ८० लाख लिटर भन्दा बढी पानी पाउन सक्ने भएपनि हामी बञ्चित भएको रहेछौं ।’

भुईको टिप्न खोज्दा गोजीकै गुम्यो: पुर्वमेयर मेन्याङ्बो

धरानका पुर्वमेयर मनोज मेन्याडबोले खानेपानी समस्या समाधान गर्न भनेर मेयर हर्क साम्पाङले चलाएको अभियान भुँईको टिप्न खोज्दा गोजीकै गुमेको भन्दै टिप्पणी गरेका छन् ।कार्यक्रममा भिडियो रिपोर्ट हेरिसके पछि पुर्वमेयर मेन्याङ्बोले मेयर साम्पाङ परिणाममुखी भन्दा पनि प्रचारमुखी काममा अल्झिएको बताए ।

यद्यपी उनले मेयर साम्पाङले समस्या समाधान गर्न गरेको प्रयत्नहरुलाई धन्यवाद पनि दिए । ‘धेरै काम गर्नुभएको छ, यति हुँदा हुदै पनि जस पाउन सकिरहनुभएको छैन । धराने जनता पानी नपाएर प्रताडित छन्, आलोचना भइरहेको छ । म त्यति धेरै आलोचना गर्न चाहन्न,’उनले भने, ‘यति चै भन्छु, उहाँको काम ठिक छ, शैली नितान्त वेठिक छ । उहाँले परिणाममुखी भन्दा पनि प्रचारमुखी काम गर्नुहुन्छ, जुन कारणले गर्दा समस्या भएको छ । भुँईको टिप्न खोज्दा गोजीको पनि खसेको भयो,अहिलोको अवस्था हेर्दा ।’

पकुवा र निशानेको अभियानले श्रम सँस्कृतिको प्रचार भएपनि खानेपानीमा ठुलो सहयोग नपुग्ने उनले बताए । तर, हाल खर्दु खोलामा गोर्खा वेल्फेयरले निर्माण गरिरहेको ३ वटा इन्टेक बनाउने काम भने धेरै महत्वपुर्ण भएको पनि उनले बताए । ‘त्यो सबैभन्दा महत्वपुर्ण काम हो । बर्खामा धमिलो पानी हुदैन, र बर्खामा पनि जंगलबाट पम्पले तान्नु नपर्ने अवस्था बन्ने छ,’उनले भने,‘धन्यवाद ट्यांकी बनेको छ, त्यसको मुक्तकण्ठले प्रसंशा गर्नुपर्छ ।’

भिडियो: