धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा.प्रह्लाद कार्की नियुक्त भएका छन् ।

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उनलाई कामु उपकुलपति नियुक्ती गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पुष्टि गरेका छन् । सचिव डा.पोखरेलका अनुसार बाधा फुकाउ गर्न  सहकुलपतिलाई निमित्त र कायम मुकायम नियुक्ती गर्न सक्ने प्रावधान अनुसार नै डा.कार्कीलाई नियुक्ती गरिएको हो । प्रतिष्ठानका निलम्बित उपकुलपति डा.ज्ञानेन्द्र गिरी कानुनी प्रक्रियाबाट फिर्ता भए कामु उपकुलपति डा.कार्कीले स्वतः पद छोड्नुपर्नेछ ।

कामु उपकुलपतिमा नियुक्त भएका डा.कार्की प्रतिष्ठानका सिनियर चिकित्सकमध्येका एक हुन् । उनी वरिष्ठ मुटुरोग बिशेषज्ञ हुन् । यसअघि, प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले सम्हालेका थिए । उनलाई सहकुलपति एवं स्वास्थ्यमन्त्रीले नै निमित्तको जिम्मेवारी दिएका थिए । उपकुलपति डा.गिरीले प्रोफेसर पदको दुरुपयोग गरेको भन्दै अख्तियारले गत माघ पहिलो साता मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । 

डा.कार्की उमेर हदको कारण अवकाश पाउनुपर्ने भएपनि निलम्बित उपकुलपति डा.गिरीले सिनेटबाट संशोधन गरेपछि प्रतिष्ठानमा नै कार्यरत थिए । निलम्बित उपकुलपति डा.गिरीले ६१ बर्षमा अवकाश पाउने प्रावधानलाई संशोधन गर्दै फ्याकल्टीको अवकाश हुने उमेर हद ६५ बर्ष पुर्याएका थिए । सोही कारण डा.कार्की प्रतिष्ठानमा कार्यरत थिए । उनका श्रीमति प्रा.डा.संगीता भण्डारी पनि प्रतिष्ठानमा कार्यरत छिन् । डा.भण्डारी यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएकी थिइन् । 

छाता ऐनमा गाभ्ने खतरा टर्यो: डा.शर्मा

वीपी प्रतिष्ठानलाई पनि समेटेर सरकारले छाता ऐन ल्याउन लागेको भन्दै धरानका नागरिक अगुवा, राजनीतिक दलहरु आन्दोलनमा छन् । बीपी बचाउ संयुक्त संघर्ष समिति नै गठन गरेर उनीहरु राजधानी पनि गएका थिए । 

संघर्ष समितिले प्रतिष्ठानमा उपकलुपति नियुक्तीको प्रक्रिया तत्काल अघि बढाउन माग गरेको थियो । उपकुलपति नियुक्ती भएमा प्रतिष्ठानको स्वायत्तता नखोसिने र छाता ऐनबाट पनि अलग हुने संघर्ष समितिको भनाई थियो । सोही अनुसार संघीय राजधानी पुगेको समितिले प्रधानमन्त्रीदेखि विभिन्न दलका शिर्ष नेताहरुसँगको भेटमा पनि उपकुलपति तत्काल नियुक्तीको माग राखेका थिए ।

बुद्धिजिवि एवं नागरिक अगुवा डा.राजेन्द्र शर्मा प्रतिष्ठानको उपकुलपति डा.ज्ञानेन्द्र गिरी निलम्बन मात्र भएको कारण कायम मुकायम उपकुलपति नियुक्ती गर्नुपर्ने बाध्यता भएको हुनसक्ने बताउँछन् । कामु मात्र भएपनि उपकुलपति नियुक्ती गरिदा वीपी प्रतिष्ठानलाई छाता ऐनमा गाभ्ने खतरा तत्काललाई हटेको उनले बताए । ‘छाता ऐनमा लैजान भिसि नियुक्ती नगरेको भन्ने थियो, अब कामु मात्र भएपनि भिसि आयो । यो सकरात्मक हो,’उनले भने ।