धरान: कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले साउन महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी ( बेष्ट पुलिस अफ दि मन्थ) घोषणा गरेको छ । 

बिभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवलका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै प्रादेशिक अनुसन्धान समुह (पिआइटी) मा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मगर र जिल्ला प्रहरी कार्यलय खोटाङमा कार्यरत प्रहरी सहायक निरीक्षक सृजना राईलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरि पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक मगरले धरानको जंगल एरियामा श्रृंखलाबद्ध रुपमा भएको लुटपाट र श्रावण ५ गते  सेउती पुल नजिक लुटपाट गर्ने क्रममा गोली प्रहार गर्ने समुहको सुक्ष्म अनुसन्धान गरेर पक्राउ गर्न सफल भएका थिए । 

यस्तै, खोटाङकी  प्रहरी सहायक निरीक्षक राईले २०७८ पौष ८ गतेदेखि हराइरहेका खोटेहांङ गाउँपालिका ३ का १६ बर्षीय राजेश राई को खोजतलास गरि भारतबाट नेपाल ल्याउने महत्वपुर्ण भुमिका निर्वाह गरेकी थिइन् ।  उनले छिमेकी राष्ट्र भारतको जम्मु काश्मिर उदमपुरको पलास बाल आश्रममा रहेको सूचना पश्चात देल्ली सी.डब्लु.सी. नामक संस्थासंग आवश्यक समन्वय गरी नेपाल ल्याउन भुमिका खेलेकी थिइन् । प्रदेश प्रहरीले प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु छनौट गरी प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आईरहेको छ ।