धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया जारी रहदा लोकसेवा आयोगले अंकुश लगाएपछि शिक्षक कल्याण समाजले आन्दोलनको घोषणा गरेको छ ।

समाजको मंगलबार बसेको आकस्मिक साधारण सभाले भदौ १३ गते (बुधबार) देखिको सबै शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु बहिष्कार गर्ने घोषणा गरेको छ । यस्तै, प्रतिष्ठानले दिएको अतिरिक्त जिम्मेवारीहरुलाई पनि बहिष्कार गर्ने र प्रत्येक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालय अगाडि धर्ना दिने पनि समाजले घोषणा गरेको छ । आवश्यकता अनुसार अन्य कार्यक्रमहरु परिमार्जन गर्दै लैजाने पनि समाजका अध्यक्ष डा.सेराज अहमद खान र सचिव डा.कादिर आलमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच, शिक्षक कल्याण समाजको विज्ञप्ती र आन्दोलनको कार्यक्रमप्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव कुमार शर्माले अपिल जारी गर्दै पठनपाठन एवं विरामीहरुको स्वास्थ्य उपचार सेवामा दिनरात तल्लिन प्रतिष्ठानका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको समय सापेक्ष नियमानुसार वृत्तिविकास हुनुपर्छ भन्ने कुरामा दुई मत नरहेको र नरहने प्रतिवद्धता जनाएका छन् ।

शिक्षाध्यक्ष डा.शर्माले प्रतिष्ठानमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुको भविष्यलाई मध्यजनर राख्दै शिक्षकहरुका आफ्ना हकहितका कदमहरु अगाडि बढाउन पनि अनुरोध गरेका छन् । विद्यार्थीहरुको पठनपाठन र परीक्षा जस्तो बिषयको गम्भीरतालाई बुझेर पठनपाठन र परीक्षाका पुर्वनिर्धारित कार्यक्रमहरु यथावत सञ्चालन गर्न, गराउन पनि शिक्षाध्यक्ष डा.शर्माले शिक्षकहरुलाई अपिल गरेका छन् । 

bpkihs lok

bpkihs loksew

bpkih lok