धरान: उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा ढुंगामुढा गरेको भनिएको घटना पछि गए राती (मंगलबार) युवाहरुको समुहले बाँझगरा वन उपभोक्ता समुहको कार्यालय ताला फोेडेको पाइएको छ ।

धरान १५ सुर्य मार्गमा रहेको वन समुहको कार्यालयको ताला फोडेर राती करिब ११ बजेतिर युवाहरुले किचनमा खाना, तरकारी पकाउदै गरेको खबर भएपछि प्रहरी पुगेको थियो । त्यसक्रममा प्रहरीले २ जनालाई वन समुहको कार्यालयबाटै पक्राउ गरेको थियो भने एक दर्जन भन्दा बढी युवाहरु भने फरार भएको बताइएको छ । उक्त घटनाबारे आज बुधबार बिहान वन समुहको आकस्मिक बैठक बसेर ताला फोड्ने समुहलाई कानुनी कारबाहीको माग गर्दे प्रहरीमा जाहेरी दिने निर्णय गरेको अध्यक्ष राजन मोक्तानले जानकारी दिए ।

bajhagara1

उपाध्यक्ष कुमार भारतीले आफुहरु घाइते भएका सन्देश राईको उपचारमा वीपी प्रतिष्ठानमा खटिएको बेला गए राती वन समुहको कार्यालयको ताला फोडेको खबर पाएको र प्रहरीलाई जानकारी दिएको बताए । ‘वन समुहको कार्यालयमा चिया, खाजा पकाउन किचन पनि छ । कार्यालयको ताला फोडेर त्यही खाना पकाइसकेको रहेछ, कुखुरा पनि काटेर मासु पकाउन ठिक्क पारेको रहेछ,’ भारतीले भने,‘जुत्ताचप्पल, कपडा पनि यही छोडेर भागेको रहेछ ।’ गम्भीर घाइते सन्देश वन समुहकी हेरालु कर्मचारीको छोरा भएकोले उपचारमा सहयोग गरिरहेको पनि बताए ।

हिजो धरान १५ खोरिया बस्ती र सुर्य मार्गका युवाहरुबीच हतियारसहित ग्याँङ फाइट भएको थियो । सोही क्रममा सुर्य मार्गका युवाहरुले उपमेयर बेघाको घरमा ढुंगामुढा पनि गरेका थिए । झगडामा उपमेयर बेघाका कान्छा भाई विष्णु बेघा सामान्य घाइते भएका थिए भने सुर्य मार्गका सन्देश राई गम्भीर घाइते भएका थिए । घटनाको अनुसन्धान गर्न प्रहरीले उपमेयर बेघाको भाइसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । 

भिडियो: