धरान: अस्पतालसम्म पुग्न समस्या भएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी टोल तथा समुदायमा नै स्वास्थ्य जाँच गर्न हाडजोर्नी शिविर आयोजना गरिएको छ । 

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा.विक्रम प्रसाद श्रेष्ठको अगुवाईमा शनिबार धरान ७ स्थित सिद्धि नेवाः परिषदमा शिविर सम्पन्न भएको हो । अस्पतालसम्म पुग्न, त्यहाँँको प्रकृया पुरा गर्न,  र पालो कुर्न समस्या हुने विमारीहरुलाई लक्षित गरेर शिविर संचालन गरिएको प्रा.डा. श्रेष्ठले जानकारी दिए । 

उमेर ढल्कदै जादा घुडा खिईने, ढाडको नसा च्यापिने जस्ता हाडजोर्नीको समस्या धेरैलाई हुने गरेको र उपचारको अभावमा उनीहरुले धेरै समस्या खेप्नु परेको श्रेष्ठको भनाई छ । सामान्य कसरत र केही औषधी सेवन गर्नाले हाडजोर्नीको समस्याबाट बच्न सकिने उनको सुझाव छ । शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो । उक्त शिविरमा ९८ जनाले स्वास्थ्य सुविधा लिएका थिए ।

 सिद्धि नेवाः परिषद्ले सामाजिक उत्तरदायित्व पुरा गर्न निःशुल्क जेष्ठ नागरिक हाडजोर्नी शिविरको अयोजना गरिएको परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले बताए ।परिषद्ले धरानका विभिन्न रोगका विषशज्ञ डाक्टरहरुबाट दुई दुई महिनामा स्वस्थ्य शिविर अयोजना गर्ने योजना बनाएको परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि डा. इच्छा जोशी सोनीबाट आँखा शिविर, डा. प्रशान्त शाहबाट मुटु रोग सम्बन्धी शिविर, डा. सन्दिप बज्रचार्यबाट पेट सम्बन्धी शिविर संचालन भइसकेको छ । हाडजोर्नी सम्बन्धी विशषज्ञ एवं विभागीय प्रमुख प्रा.डा. श्रेष्ठ र उनको टिममा अन्य १० जाना डाक्टरहरुले स्वास्थ्य जाँच गरेका थिए । उपचारको लागि अस्पताल धाउनु नपरेको भन्दै सेवा लिएका ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका थिए ।

शिविरमा खटिएका डाक्टरहरु र निःशुल्क औषधी व्यवस्था गर्ने विभिन्न ६ औषधी कम्पनीका प्रतिनिधिहरुलाई खादा सहितले आयोजकले कृतज्ञता ज्ञापन गरेको थियो । कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ, कार्य समितिका पदाधिकारी एवम् विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।