धरान: धरानमा एक पछि अर्को सहकारी डुबेर सेयर सदस्य तथा वचतकर्ताहरुको पैसा जोखिममा पुगेपछि सहकारीप्रति अविश्वास बढ्दो छ । तर, सबै सहकारीहरु खराब छैनन् । धरानमै राम्रो व्यवस्थापन गरेर चलेको र मुनाफा कमाएर सेयर सदस्यहरुलाई लाभांस वितरण गर्ने सहकारीहरु पनि छन् । तिनै मध्येमा पर्छ, गोरखा बचत तथा ऋण सहकारी संस्था । 

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले केही सहकारीको कारण समग्र सहकारीहरुप्रति बिषवमन भइरहे पनि गोरखा जस्ता सहकारीले जनताको विश्वासलाई जोगाइराख्न सफल भएको बताए । गोरखा सहकारीको २२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले केही सहकारीहरुले जनताको पूँजीलाई जोखिममा पारिदिएकोमा चिन्ता पनि व्यक्त गरे । उपमेयर बेघाले साना पूजीहरुलाई जम्मा गरेर चलायमान गराउने, उर्पाजनमा लगाउने काम सहकारीको भएपनि गलत नियतले खोलेका सहकारीले जनताको पूजी जोखिममा पारिदिएको बताए । 

aindra begha 1

‘व्यक्तिगत स्वार्थको निम्ति सहकारी खोलेर पैसा डुबाइदिए, जसले गर्दा सहकारीलाई बिष वमन भइरहेको छ, बिष्ट्याइ भइरहेको छ । त्यसलाई सफा गर्न धेरै गाह्रो परिरहेको छ,’उपमेयर बेघाले भने,‘केही गलत सहकारीको कारण अविश्वास बढेको हो, राम्रोलाई विश्वास गर्नुस् भन्छौं । गोर्खाले विश्वास जितेको छ, यो साख खस्कन दिनुहुदैन । अझै राम्रो हुदै जानुपर्छ ।’ 

निवर्तमान मेयर तिलक राईले सहकारी आर्थिक समृद्धिको माध्यम पनि भएकोले सहकारीको आचरण र भावनाबाट सञ्चालन भएमा समस्या नहुने बताए । उनले गोरखा सहकारीको उदाहरण दिदै मुनाफा कमाएर लाभांस वितरण गर्ने सहकारीहरु पनि भएको बताए । ‘तर, केही सहकारीहरुको गलत कामकारबाहीको कारण धरानमा धेरै मान्छेहरुको बचत डुब्ने स्थिति छ,’ उनले भने,‘सहकारीहरुको गतल आचरणले गर्दा वचतकर्ता, सेयर सदस्यहरुको पैसा डुबेको कारणले पनि आर्थिकरुपमा बजार चलायमान भएको छैन ।’

tilak rai

उनले आफु सदस्य भएको सहकारीको व्यवस्थापकीय भुमिका, लेखाको प्रणाली र काम कारबाहीबारे चासो राख्नु अपरिहार्य भएको पनि बताए । नेपाल बचत तथा ऋण केन्द्रीय कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले धरानको गोरखा सहकारी हरेक किसिमले उत्कृष्ट रहेको बताए । उनले सेयर सदस्यहरुलाई पनि सहकारी शिक्षा दिनुपर्ने धारणा राखे । 

गोरखाले आर्थिक बर्ष २०७९/२०८० मा १ करोड २७ लाख ४ हजार ८१९ रुपैया खुद मुनाफा गरेको छ । शुक्रबार धरान १० स्थित सैनिक भवनमा आयोजित साधारणसभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संस्थाले जानकारी दिएको हो । संस्थाले नाफा गरेको रकमबाट विभिन्न कोषहरुमा सहकारी ऐन र विनियमानुसार बाँडाफाँड गरी शेयर लाभांश वापत प्रतिकित्ता शेयर ८.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

gorkha1

साधारणसभाको उद्घाटन सत्रमा असल बचतकर्ताहरु धरान १८ की टिना गुरुङ, धरान ११ का चन्द्रकुमार राई र धरान १७ का किरण राईलाई नगद ५ हजारसहित सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । यस्तै, तीन जना असल ऋणीहरु धरान ५ की आशाकुमारी राई, धरान १३ की देउमाया राई र धरान १४ की मेनुका राईलाई पनि जनही नगद ५ हजारसहित सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।