बिराटनगर: प्रहरी सहायक निरीक्षक किरण मगरले एक लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” पाएका छन् । 

प्रदेश भरिबाट उत्कृष्ट कार्य गरेको मुल्यांकन गर्दै मगरलाई मंगलबार ६८ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका मगरले ताप्लेजुङको कन्चन मनि ट्रान्सफरबाट रकम र गहना चोरी गर्ने गिरोह पक्राउ गर्न महत्वपुर्ण योगदन दिएका थिए भने धरान आसपासमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन सफल भएका थिए । 

उनले अपराध अनुसन्धान र अपराधीलाई कानुनी दायरामा ल्याएर सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति गराएको साथै नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउन भुमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । मगरले प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रदान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

police day copy

बर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष प्रहरी दिवसको अवसरमा यो पुरस्कार प्रदान गरिदै आएको छ । साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषको स्थापना धरानका प्रसिद्ध चिकित्सक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले गरेका हुन् । कार्यक्रममा डा.श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा पत्र पुरस्कृत प्रहरी सहायक निरीक्षक मगरलाई प्रदान गरेका थिए । 

प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले प्रहरी कर्मचारीहरुको मनोबल उच्च यो पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गरेको उल्लेख गर्दै आफ्नी स्वर्गीय आमा साधना देबी श्रेष्ठको नाममा कोष स्थापना गरेर पुरस्कार प्रदान गर्ने श्रेष्ठलाई धन्यबाद पनि दिएका थिए । साथै, बास्तोलाले पुरस्कृत हुने प्रहरी अधिकृतलाई बधाई समेत दिएका थिए । 

police day2

सोही प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथि तथा मुख्यमन्त्री केदार कार्कीले दोसल्ला ओढाएर सम्मान पनि गरेका थिए । पुरस्कारका संस्थापक प्रा.डा.श्रेष्ठले स्वर्गीय आमाको सम्झनामा प्रहरीको मनोबल बढाउन पुरस्कृत गर्न पाएकोमा आफु र परिवार खुशी भएको बताए । 

पुरस्कृत प्रहरी सहायक निरीक्षक मगरले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरेर संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताए ।