धरान: चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै धरानमा ३० भन्दा बढी प्रहरी जनशक्ति थपिएको छ । 

ईलाका प्रहरी कार्यालय धरानले चाडपर्वको अवसरमा बिहिबार सञ्चारकर्मीहरुसँग आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा डिएसपी नवराज मल्लले उक्त जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट धरानको लागि ३० जना बढी जनशक्ति थप भएको छ । 

यस्तै, उनले छाताचोक र पुतलीलाइन क्षेत्रमा १८ घण्टामा नघटाइकन निश्चित क्षेत्रमा प्रहरी र मोवाइल डिउटीमा पनि खटाइएको बताए । धरान ११ र १६ को सिमाना रहेको सखुवागाछीमा चौबिसै घण्टा प्रहरी बिट, मोवाइल टोली परिचालन गरिएका पनि उनले बताए । 

डिएसपी नवराज मल्लले जिल्ला सुरक्षा समितिको निर्णय र फिल्ड अवस्थालाई ध्यान दिएर राती १० बजेसम्म होटल, रेष्टुरेष्ट सञ्चालन गर्न दिइएको पनि बताएका छन् । केही दिनअघि सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको बताएकी थिइन् । डिएसपी मल्लले व्यवहारिकतालाई पनि विचार गर्दै जिल्ला सुरक्षा समितिको निर्णय कार्यान्वन गरिएको बताए । 

स्थानीय सरकार तथा कार्यपालिका बैठकले राती ११ बजेसम्म होटल, रेष्टुरेष्ट सञ्चालन गर्न अनुमतिको लागि सिफरिश गरेको प्रसंगमा उनले शान्ति सुरक्षा प्रदान गर्ने सरकारको आधिकारिक संयन्त्रसँग समन्वय, अन्तरक्रियासमेत नगरिएको प्रतिक्रिया दिए । ‘इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय जस्ता शान्तिसुरक्षा प्रदान गर्ने संघीय सरकारको आधिकारिक संयन्त्रलाई छेउमा फड्के किनारा नै सही, उभ्याउदै नउभ्याई, देखाउदै नदेखाई ११ बजे चल्ने, १ बजे चल्ने भनेर चल्छ त ! कानुन त्यही हो त !,’डिएसपी मल्लले भने,‘मिल्थ्यो मिल्थेन, हुन्थ्यो हुन्थेन भन्ने छुट्टै कुरा हो । सुरक्षा समितिबाट पास हुने कुरा छुट्टै होला, तर इलाका प्रहरी कार्याल्य, इलाका प्रशासन कार्यालय छ ? शान्ति सुरक्षा कायम गर्ने संवदेशनील सुरुक्षा अंगको पदाधिकारीलाई राखिएको छ ? अन्तरक्रिया गरिएको छ ? सोधपुछ गरिएको छ ? रायप्रतिक्रिया लिइएको छ ? सिस्टम त्यो हो । प्रहरीले अहिले नै धरपकड गरिरहालेको पनि त छैन ।’

डिएसपी मल्लले सुरक्षा संवेदनशीलता भन्दा बढी धरानमा आर्थिक संवेदनशीलता रहेको भन्दै आर्थिक गतिविधि गर्ने, बढाउने बिषयमा प्रहरी बाधक नभएको बताए । तर, उनले शान्ति सुरक्षामा सम्झौता गरेर सबै कुरा छाडा, खुल्ला छोड्न नमिल्ने पनि बताए । ‘माथिबाट आउने कानुन वमोजिम निर्देशन, फिल्ड लेभलका पर्यटन व्यसायी, होटल व्यवसायीको चासो, नागरिक समाजको चासोलाई ध्यान दिएर चुस्त व्यवस्थापन गर्ने नै छ । थ्रेड छैन तर सिफारिश गर्दैमा त्यो कुरालाई सदर गर्ने अवस्था छैन,’उनले भने ।

डिएसपी मल्लका अनुसार बगरकोटको एमएच लाउञ्जलाई मात्र मापदण्ड पुरा गरेको अवस्थामा राती १ बजेसम्म खोल्न अनुमति छ । अन्य होटलहरुलाई भने १० बजेसम्म मात्र अनुमति रहेको पनि जानारी दिए । केही दिनअघि भिन्टेजमा अटेर गरेको कारण राती ११ बजेर ३८ मिनेटमा आफु स्वयम गएर बन्द गर्न निर्देशन दिदा अतिरञ्जित प्रचार गर्न खोजेको भन्दै डिएसपी मल्लले प्रष्टीकरणसमेत दिएका छन् । 

भिडियो: