धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुसँग पनि पदाधिकारीहरुको ४ बुँदे सहमति भएको छ ।

आन्दोलनरत शिक्षक चिकित्सकहरुसँग सहमति भएलगत्तै प्रतिष्ठानका पदाधिकारीहरु कर्मचारी कल्याण समाजसँग पनि वार्तामा बसेका थिए । कर्मचारीहरुको माग पनि शिक्षकहरुको जस्तै रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने थियो । शिक्षकहरुसँग लिखित सहमति भइसकेको कारण कर्मचारीहरुसँग सहमति गर्न सहज भएको थियो ।

आइतबार रातभर र सोमबार बिहानैदेखि शिक्षक चिकित्सकहरुसँगको वार्तामा बसेका मेयर हर्क साम्पाङ कर्मचारीहरुको वार्तामा भने केही समय मात्र बसेका थिए । कर्मचारीहरुसँगको वार्तामा धरानका राजनीतिक दलका नेतृत्व, वडा अध्यक्ष सहभागी भएका थिए ।

कर्मचारी कल्याण समाजसँग अन्तर्वार्ता हुन बाँकी रहेका सबै स्थायी तथा परफर्मेन्स करार सेवाका पदहरुका कर्मचारीहरुको पुष १ गतेदेखि पुष मसान्तसम्म अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको छ । यस्तै, करार सेवाको कर्मचारीहरुको अन्तर्वार्ता मंसिर १ गतेदेखि सुचारु गरेर मंसिर भित्र सम्पन्न गर्ने, समाजका सदस्य र कर्मचारीहरुप्रति व्यवस्थापन पक्षले कुनै पुर्वाग्रह नराख्ने पनि सहमति पत्रमा उल्लेख छ । 

bp staff1