धरानः नेकपा एमालेले धरान उपमहानगर कमिटीले सार्वजनिक तथा निजी सवारी साधनबाट पार्किङ कर उठाउन ठेक्का लगाएको प्रति गम्भीर आपत्ति र असहमति प्रकट गरेको छ ।

एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ लिम्बुले प्रेश विज्ञप्ती जारी गर्दै धरानका जनता चाडपर्वमा ब्यस्त रहेको बेला करवृद्धिको निर्णय गरी कार्यान्वयन गर्नु षडयन्त्रपुर्ण रहेको आरोप लगाएका छन् । एमाले जनमैत्री कर प्रणालीको पक्षमा रहेको र विगतमा एमालेका निवार्चित जनप्रतिनिधि हुँदा सोही जनमैत्री करको मर्म अनुसार कर निर्धारण गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । नगरपालिकाको आम्दानी बढाउने नाममा सर्वसाधारण र मजदुर वर्गको प्रत्यक्ष संलग्नता रहेको क्षेत्रमा नगर प्रमुख र उपप्रमुखको मुड अनुसार कर वृद्धि गरिएको एमाले धरानको ठम्याई रहेको विज्ञप्तीमा खुलाइएको छ ।

कर नागरिक मैत्री र वैज्ञानिक हुनुपर्ने मान्यतालाई पदको आडमा स्वार्थ अनुसारको निर्णय गर्नु आफैमा लज्जास्पद भएको पनि विज्ञप्तीमा उल्लेख छ । आर्थिक मन्दीले व्यापारी, व्यवसायी मारमा परिरहेको बेला ठेकेदारलाई पोस्ने र जनतालाई करको भारी बोकाउने निर्णयहरु तुरुन्त स्थगन गरि एमाले धरानले जनमैत्री लागु गराउन पनि माग गरेको छ । धरान उपमहानगरपालिकाले भानुचोक बजार क्षेत्र र आसपासका सडकहरुमा मोटरसाइकल र स्कुटर पार्किङकोसमेत शुल्क लिने गरि ठेक्का लगाएको छ । कार्तिक २४ गतेदेखि लागु हुने गरि ठेक्का सम्झौता भएको सुचना उपमहानगरले जारी गरेपछि सामाजिक सञ्जालमा आलोचना तथा विरोध भइरहेको छ । 

emale kar