धरान: मेयर हर्क साम्पाङले ऐलनीमा बनेको पुराना घरहरुलाई स्थानीय सरकारमा सुचीकृत गर्न आउन आह्वान गरेका छन् । 

मंगलबार धरान उपमहानगरपालिकामा आयोजित २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आह्वान गरेका हुन् । उनले नगरको सिमित बजेट तथा स्रोतको कारणले स्वास्थ्यमा योगदान दिएका स्वयंसेविकाहरुलाई तलब सुविधा दिन नसकेको भन्दै स्रोत बढाउनको लागि कर लिनुपर्ने बाध्यता भएको बताए । 

उनले उपमहानगरको न्युनतम आन्तरिक आम्दानी २५ करोड हुनुपर्नेमा गत आर्थिक बर्षमा २२ करोड मात्र राजश्व संकलन भएको पनि बताए । ‘धरानमा घरहरु धेरै छ, तर नक्सा पास र कर तिर्ने संखया थोरै छ,’ मेयर साम्पाङले भने, ‘सेवा सुविधा, सुरक्षा जस्ता राज्यले गर्नुपर्ने दायित्व पुरा गरोस् भन्ने चाहना छ, भौतिक र सामाजिक हिसाबले प्रगति गर्ने सहर धरान बनास् भन्ने लाग्छ भने तपाईहरुको घर दर्ता गर्न आउनुस् । ऐलनीमा बनेको छ भने पनि सुचीकृत गर्न आउनुस्, अनि सेवा सुविधा पाउनुहुन्छ ।’

swasth` 1

नगरले सडकमा पार्किङ शुल्क उठाउदा आफ्नो र उपमहानगरपालिकाको आलोचना भइरहेको उल्लेख गर्दै जनतालाई सेवा सुविधा, शान्ति सुरक्षा दिनको लागि कर उठाउनैपर्ने बाध्यता रहेको बताए । ‘हामी जनताकै काम गर्नको लागि खट्ने औजार हो, माध्यम हो । जुन माध्यमले जनताबाट कर उठाएर जनतालाई सेवा सुविधा, शान्ति सुरक्षा दिन्छ,’ उनले भने,‘कर नउठाउनु तर बाटो राम्रो बनाउनु, भवन बनाउनु भन्ने बुझाइ रहेको छ । यो त रोप्दै नरोपी विरुवा उम्रोस र फल लागोस् भनेजस्तो हो । हाम्रो त्यही अपेक्षाले देश विदेशी ऋणमा डुब्दैछ ।’ 

राजनीति गर्नेहरुले चुनावमा कर उठाउदैनौं भन्ने तर विकास गर्छु भनेर आश्वासन दिने गरेको कारण विदेशबाट ऋण लिनुपरेको मेयर साम्पाङको भनाई थियो । ‘राम्रो हुनको लागि कर छुट गर्दिन्छु भन्ने र चिल्लो बाटो बनाइदिन्छु पनि भन्ने । अनि, अर्को चुनावमा उठ्नको लागि भए पनि विदेशबाट ऋण लिनुपर्ने बाध्यता हुन्छ । अब यो बुझाईमा परिवर्तन आउनुपर्छ,’ उनले भने,‘कर प्रणाली बैज्ञानिक हुनुपर्छ, र जनताले तिरेको कर दुरुपयोग हुनु हुदैन । हाम्रो देशमा दुरुपयोग हुन्छ, बाँडेर खाइहाल्छ भन्ने भएको कारणले नतिरेको हो कि भन्ने लाग्छ । नत्र मुनाफाको १० प्रतिशत दिदा के हुन्छ ? सय रुपैया नाफा आउदा १० रुपैया दिदा त हुन्छ ।’

दुई जना स्वास्थ्य स्वयंसेविकालाई विदाई

तलब बिना बषौंदेखि स्वास्थ्य स्वयंसेविकाकोरुपमा कार्यरत धरानका दुई जना स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित विदाई गरिएको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजिक कार्यक्रममा वडा नं २ की रश्मी निरौला र वडा नं ६ की बिन्दा राई (पुलामी)लाई सम्मानसहित विदाई गरिएको हो । 

स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा दुवैलाई जनही नगद २ लाखसहित सम्मान पत्रले विदाई गरिएको थियो । प्रमुख अतिथि मेयर हर्क साम्पाङले सम्मान पत्र प्रदान गरेका थिए । जनही नगद २ लाख भने दुवै जनाको खातामा जम्मा भइसकेको स्वास्थ्य महाशाखाले जनाएको छ । 

धरानमा विगत ३५ बर्षदेखि स्वास्थ्य स्वंयसेविकाहरु कार्यरत छन् । हाल १४१ जना स्वंयसेविकाहरु छन् । उनीहरुलाई पोशाक भत्ता र फिल्डमा खटिदा मात्र भत्ता दिइने गरिएको छ । सामान्य भत्ताको भरमा स्वास्थ्य सेवा पुर्याउदै आएका स्वयंसेविकाहरुले उचित तलबभत्ताको माग पनि गर्दै आएका छन् ।'

भिडियो: