धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले धरान– हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयमा रास्वपाकी सरिन तामाङले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान उपप्रमुख मञ्जु भण्डारी माथि लगाएको आरोपहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ लिम्बुले सरिन तामाङले सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत कुरा बोल्दै समाजलाई समेत दिग्भ्रमित पारेको आरोप लगाएको छ । प्रत्यक्ष सरोकार नभएको विषयमा  भ्रष्टाचार गरेको भनी पार्टी र पार्टीका नेतालाई जोडेर टिप्पणी गरिएको भन्दै एमाले धरानले आपत्ति रहेको पनि उक्त विज्ञप्तीमा उल्लेख छ । 

उक्त सडक योजना एमालेकै पहल र प्रयासमा प्रदेश सरकारको ग्रामीण सडक योजना अन्तर्गत आर्थिक वर्ष २०७६/७७ बाट शुरु भएको पनि विज्ञप्तीमा उल्लेख छ । उक्त सडक निर्माणको बजेट, इस्टिमेटसहित ठेक्का प्रक्रिया सबै प्रदेश सरकारले गरेको र स्थानीय सरकारले समन्वयकारी भूमिका मात्र निर्वाह गर्न सक्ने विज्ञप्तीमा खुलाइएको छ । प्रक्रियाका आधारमा यस्ता बहुबर्षीय  योजनाहरूमा कामको आधारमा भुक्तानी हुने नीतिगत व्यवस्था रहेको पनि उल्लेख छ । 

तामाङ रास्वपा प्रदेश उपसभापति हुन् । उक्त सडकखण्ड निर्माणको क्रममा बेवारिस भएको र गुणस्तरहिन काम भएकोबारे उनले फेसबुकमार्फत उनले पुर्वउपमेयर भण्डारीप्रति उक्त सडकबारे आरोप लगाएका थिए । सामाजिक सञ्जालमा ४४ करोड भ्रष्टाचार गरेको भनेर लगाएको आरोप प्रमाणित गर्न समेत रास्वपा र रास्वपाकी सरिन तामाङलाई एमालेले चुनौती समेत दिएको छ । उक्त सडकलाई पारदर्शी ढङ्गमा छिटो निर्माण सम्पन्न गर्न अहिले पनि नेकपा एमालेका नेता, सांसदहरु पनि लागि परेको दाबी गर्दै एमाले धरानले वर्तमान प्रदेश सांसद रमेशकुमार बस्नेतले संसदमा पटक पटक उक्त बिषयमा ध्यानाकर्षण गराएको उल्लेख छ । 

सार्वजनिक रूपमा सामाजिक सञ्जालबाट झुटा आरोप तथा चरित्र हत्या गर्नेलाई तत्काल कारबाही गर्न एमाले धरानले प्रशासन समक्ष माग पनि गरेको छ । विना कुनै आधारमा एमालेमाथि बदनाम गर्ने तथा दुरासायपुर्ण अभिव्यक्ति दिनेमाथि आवश्यक कदम उठाउन बाध्य हुने पनि एमालेले जनाएको छ । 

dharan hardiya copy