धरान: पुर्वपश्चिम विद्युतीय रेलमार्गको काकडभिट्टा इनरुवा खण्डको नम्बरी जग्गा रोक्का हुँदा पीडित बनेका स्थानीयबासीहरुले धरानका उपमेयर अइन्द्र बिक्रम बेघामार्फत आफ्नो माग पत्र सरकारलाई बुझाएका छन् ।

स्थानीयबासीहरुको माग पत्रलाई उपमेयर बेघाले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालालाई हस्तान्तरण गरेका थिए । उपमेयर बेघाले आफु काठमाण्डौं आउदा स्थानीयबासीहरुले माग पत्र बुझाइदिन आग्रह गरे वमोजिम जस्ताको तस्तै पत्र प्रधानमन्त्री र मन्त्रीलाई हस्तान्तरण गरेको जानकारी दिए । 

beghy

सुनसरीका पीडित जग्गाधनीहरुले यसअघि २०७९ माघ ३ गते पनि तत्कालीन सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए । हालसम्म पनि आफुहरुको समस्या समाधान नभएकोले पुनः ज्ञापन पत्र पठाएको संघर्ष समितिको भनाई छ । 

सरकारले स्रोत सुनिश्चित नगरी रेलको अवधारणा ल्याउनु गलत भएको भन्दै संघर्ष समितिले पीडितहरुले मुआब्जा पाउने वातावरण चाडै तयार गरिदिन पनि प्रधानमन्त्री र मन्त्रीलाई आग्रह गरेका छन् । सरकारले विगत ३५ महिनादेखि विद्युतीय रेलमार्ग काकडभिट्टा इनरुवा खण्डमा कयौं बिघा नम्बरी जग्गा रोक्का गरेर राख्दा स्थानीयलाई ठुलो समस्या परेको संघर्ष समितिका देवरत्न शाक्यको भनाई छ । सरकारले हजारौं जग्गाधनीको जग्गा रोक्का गर्दा खेती गर्न नपाएको, बेचबिखन गर्न नपाएर बालबालिकाको शिक्षा, स्वास्थ्य उपचारमा सास्ती भोग्नु परिरहेको संघर्ष समितिको भनाई छ ।