धरान: पक्राउ परेका नेता, कार्यकर्ताहरुलाई निःसर्त रिहाईको माग गर्दे पहिचानवादीहरुले आज पनि यातायात बन्द गराएका छन् ।

धरानको भानुचोकबाट चल्ने लामो दुरीका कुनै पनि सार्वजनिक सवारीसाधनहरु आज पनि चलेका छैनन् । बिहानैदेखि पहिचानवादीहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर यातायात चल्न दिएका छैनन् । पहिचानवादीहरुले हिजो पनि सार्वजनिक यातायात ठप्प बनाएका थिए । यातायातमा अवरोध गर्न खोजेको आरोपमा हिजो बिहान धरानबाट ५ जना पक्राउ परेका थिए । उनीहरुलाई साँझ प्रहरीले छोडेको थियो ।

आन्दोलनकारी एवं किरात राई यायोक्खा सुनसरी जिल्ला सहसचिव शम्भु राई पृथकका अनुसार आज पनि सार्वजनिक यातायात बन्द गरिएको छ । तर, बजार र शैक्षिक संस्थाहरु सञ्चालनमा भने अवरोध नगरिएको उनले बताए । 

एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा अवरोध गर्न खोजेको आरोपमा गोपाल किरातीसहित दुई दर्जन बढी पहिचानवादी नेता, कार्यकर्ताहरु पक्राउ परेका थिए । उनीहरुलाई निःसर्त रिहाईको माग गर्दै प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार २ दिन प्रदेशभरि बन्द आह्वान गरेको थियो ।