धरान: धरान १५ स्थित ङाग्युर ञीङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बामा १२ सय बर्ष पुरानो नृत्य गुरु छेन्गे छयाम नृत्य, १० करोड बज्र गुरु जपलगायतका सप्ताहव्यापी धार्मिक, साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । 

गुम्बाले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि १२ गतेसम्म आयोजना हुने कार्यक्रमबारे जानकारी गराएको हो । गुम्बाका अध्यक्ष लोकबहादुर थिङका अनुसार फागुन १ गते शान्ति र्याली आयोजना हुनेछ भने २ गते आठौं ज्याल्सा ञिमा साङ्पो रिन्पोछेलाई स्वागत कार्यक्रम हुनेछ । फागुन ३ गतेदेखि ५ गतेसम्म १० करोड बज्र गुरु जप कार्यक्रम हुनेछ भने फागुन ६ र ७ गते गुरु छेन्गे छयाम नृत्य तथा साँस्कृतिक नृत्यु प्रस्तुत हुने अध्यक्ष थिङले जानकारी दिए । 

अध्यक्ष थिङका अनुसार यो नृत्य १२ सय बर्ष पुरानो बौद्ध धर्मावलम्बीहरुको एतिहासिक एवं महत्वपुर्ण नृत्य हो । तिब्बतको भोटमा राजा ठ्रिसोङ देउचेनको शासनकालमा भारतको बाटोबाट नेपाल हुदै गुरु पद्म सम्भव अर्थात गुरु रिन्पोछे तथा शान्त रक्षितालाई तिब्बत राज्यको भोटमा निमन्त्रणा गरि साम्य गुम्बा बिहार निर्माण गर्दा सर्वप्रथम गुरु रिन्पोछेले प्रथम दोर्जे गिङताक नामक नृत्य प्रर्दशन गरेका थिए । उक्त नृत्यलाई नै बौद्ध धर्मावलम्बीहरुको ऐतिहासिक छयाम (नृत्य) मानिन्छ ।

gumba2

यो ऐतिहासिक साँस्कृतिक नृत्य गुरु रिन्पोछेको जीवनीसँग जोडिएको लामा नृत्य हो । त्यसबेला गुरु पद्म सम्भव खोटाङ हलेसी, संखुवासभाको खम्पालुङ, फर्पिङ, मुस्ताङको मुक्तिनाथ, भारतको सिक्किम, हिमालयको छोपेमा र भुटानको समेत बिशेष तीर्थमा साधना गरेको मानिन्छ । यो नृत्य प्रर्दशन गर्ने बेला सबैभन्दा पहिला लामाहरुको नृत्यलाई ऐतिहासिक बाजा, झ्याम्टाको तालबाट संगीत गरि स्वतालमा विभिन्न देवताहरुको रुपमा सजिएर लामाको छयाम नृत्य प्रर्दशन गरिन्छ । यो नृत्यलाई विश्वका थोरै गुम्बाहरुले मात्र गर्न सक्छन् । 

यसैगरि, फागुन ८ गते टाप्चे बुद्ध धर्म सामुहिक प्रवेश कार्यक्रम हुनेछ भने दाताहरुलाई सम्मान र आठौ ज्याल्सा रिन्पोछेबाट विशेष आयुको वाङ अभिषेक कार्यक्रम पनि हुनेछ । यस्तै, फागुन ९ गते ङ््युङने ब्रत प्रारम्भ भएर १२ गते समापन हुने पनि अध्यक्ष थिङले जानकारी दिए । यो कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकहरु आउने भएकोले धरानको पर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने पनि आयोजकको भनाइ छ । यसैगरि, बौद्ध धर्म दर्शनबारेमा लामा भिक्षुहरुलाई बौद्ध शिक्षा प्रदान गरि दीर्घकालिन शान्ति स्थायित्वको भुमिका रहने र बौद्ध धर्मावलम्बी तामाङ जातिको सँस्कृतिको विकास र जर्गेना हुने पनि उद्देशय लिएको गुम्बाले जनाएको छ । 

मेयर साम्पाङसँग छलफल

gumba4

शुक्रबार कार्यपालिका बैठक भाँडिएपछि मेयर हर्क साम्पाङ गुम्बामा पुगेका थिए । गुम्बाका पदाधिकारीहरुले मेयर साम्पाङलाई कार्यक्रमबारे जानकारी गराउनुका साथै समस्याहरु पनि अवगत गराएका थिए । मेयर साम्पाङले गुम्बाको अवस्थाको निरीक्षण गर्दै सम्भव भएसम्म सहयोग गर्ने बताएका थिए ।