धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज बस्ने कार्यकारिणी समिति बैठकले आन्तरिक बढुवा विज्ञापनको अन्तर्वार्ताबारे ठोस निर्णय नगरे कर्मचारीहरु पनि सशक्त आन्दोलनमा उत्रने भएका छन् ।

कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र महासचिव मुकेशकुमार साहले विज्ञप्ती जारी गर्दै का.स.बैठकले निर्णय नगरे तत्काल समाजको बैठक बसेर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रतिष्ठानको का.स.बैठक आज दिउँसो ३ बजे बस्दैछ । तर, आजको पुर्वनिर्धारित बैठकमा उपकुलपति अनुपस्थित हुने भएपछि उनको नियतमा शंका पैदा भएको पनि विज्ञप्तीमा उल्लेख छ ।

समाजले उपकुलपतिलाई तत्काल प्रतिष्ठानमा उपस्थित भएर आज साँझसम्म का.स.बैठकबाट अन्तर्वार्ताको मिति सार्वजनिक गर्न पनि माग गरेको छ । उक्त बैठकले बढुवा प्रक्रियाबारे ठोस निर्णय नगरे सशक्त आन्दोलन घोषणा गर्न बाध्य हुने र यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार व्यवस्थापन पक्ष नै हुने पनि विज्ञप्तीमा उल्लेख छ ।

आन्तरिक बढुवा लामो समय रोकिदा प्रतिष्ठानका शिक्षक चिकित्सक र कर्मचारीहरुको वृत्तिविकास हुन पाएको छैन । कर्मचारीहरु विगत १२ बर्षदेखि बढुवा हुन पाएका छैनन् भने चिकित्सकहरुको पनि बढुवा प्रक्रिया रोकिएको ७ बर्ष भइसकेको छ ।

शिक्षक चिकित्सकहरुकाले पठनपाठन र उपचार सेवासमेत ठप्प पार्दै आन्दोलन चर्काएपछि गत कार्तिक २० गते दुर्वै पक्षसँग अलग अलग सहमति भएको थियो । उक्त सहमति वमोजिम बढुवा प्रक्रिया सुचारु गर्न व्यवस्थापन पक्षबाट ठोस पहल नभएपछि शिक्षक कल्याण समाजले हिजोदेखि आन्दोलन शुरु गरिसकेको छ भने कर्मचारीहरुले पनि आन्दोलनको चेतावनी दिएको हो । 

bp staff press re