धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक काठमाण्डौंमा बस्ने भएपछि आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु भड्किएका छन् । 

आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले का.स.बैठक प्रतिष्ठानको मुख्य कार्यालय धरानमै बसाउनुपर्ने र दुवै समाजका प्रतिनिधिलाई आमन्त्रित सदस्यकोरुपमा राखेर समस्या समाधान गर्नुपर्ने माग राखेका छन् । दुवै समाजले संयुक्त अपिल जारी गर्दै प्रतिष्ठान बाहिर का.स.बैठक बसेर गरेको निर्णय मान्य नहुने भन्दै बैठकको मुख्य एजेण्डामा शिक्षक तथा कर्मचारीहरुको बढुवा प्रक्रिया सुचारु सम्बन्धमा राखिनुपर्ने पनि उल्लेख गरेका छन् ।

आन्दोलनकारीहरुले रेक्टर प्रा.डा.सञ्जिव शर्मा र रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलालाई काठमाण्डौंमा हुने का.स.बैठकमा जान नदिन बिहानैदेखि कार्यालय घेराउ गरेर राखेका छन् । उनीहरुले दिउँसो ४ बजेसम्म रेक्टर र रजिष्ट्रारलाई कार्यालयबाट बाहिर निस्कन नदिने घोषणा गरेका छन् । का.स.को बैठकमा राखिएको एजेण्डाले पनि आफुहरुको माग सम्बोधन हुने सुनिश्चितता नभएकोले यो कदम उठाउन बाध्य भएको शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले बताए । 

उनका अनुसार बैठकको एजेण्डामा आन्दोलनको मागलाई प्राथमिकता दिइनुपर्नेमा अन्य बिषयलाई प्रथामिकता दिइएको छ । हिजो काठमाण्डौंमा स्वास्थ्य मन्त्री, मुख्य सचिव, वीपीका पदाधिकारीहरु र राजनीतिक दलहरुबीच भएको छलफलमा तत्काल अन्तर्वार्ताको मिति तोकेर सुचारु गर्न का.स.बैठक बस्ने र सिनेट बैठकको मिति तोकेर समस्याको समाधान गर्ने सहमति भएको जानकारी आफुहरुले पाएको उनले बताए । 

bp andolan 1

तर आजको बैठकको एजेण्डामा गत बर्ष २०७९ पुष २० गते र २५ गते प्रकाशित विज्ञापन सम्बन्धमा मात्र भनिएकोले आफुहरुको माग सम्बोधन नहुने उनले बताए । ‘अवरुद्ध अन्तर्वार्ता सुचारु गरी नतिजा प्रकाशन गर्ने कार्यको सुनिश्चितता गर्ने गरी एजेण्डा समेत छैन,’उनले भने,‘हाम्रो एक सुत्रिय माग भनेको अवरुद्ध भएको शिक्षक कर्मचारीको अन्तर्वार्ताको मिति तोकिनुपर्छ ।’ उनले आफुहरुले भिसिलाई निषेधित क्षेत्र घोषणा गरेपनि बैठक बस्ने भए उक्त ब्यानर निकालेर सहज वातावरण बनाउने पनि प्रतिवद्धता जनाए । साथै, मेयर हर्क साम्पाङसँग समन्वय गरेर उपकुलपति कार्यकक्षमा लागेको ताला पनि खुलाउने अध्यक्ष खानले बताए । 

उपकुलपति डा.कार्कीलाई निषेधित क्षेत्र घोषणा गर्दै शिक्षक, कर्मचारीहरुले आन्दोलन चर्काएपछि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चारै जना पदाधिकारीलाई छलफलको लागि बोलाएका थिए । मन्त्री बस्नेत र नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले का.स.बैठक राखेर निकास दिन निर्देशन दिएपछि हिजो बिहिबार नै रेक्टर प्रा.डा. शर्मा र रजिष्ट्रार प्रा.डा.संग्रौला धरान आएका थिए । उनीहरु का.स.बैठक प्रतिष्ठानमै बस्ने समझदारीमा धरान आएको बताइएको छ । तर, कायममुकायम उपकुलपति प्रा.डा. कार्कीले कार्यकारिणी समिति सदस्यहरुलाई पत्राचार गर्दै बैठक आज दिउँसो ४ बजे काठमाण्डौंस्थित सम्पर्क कार्यालयमा बस्ने गरि बोलाएका छन् । कार्यकारिणी बैठक काठमाण्डौंमा राखिएपछि आन्दोलनरत पक्ष थप असन्तुष्ट बनेका छन् । 

भिडियो:

bp andolan1 1