धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि ओपिडी सेवा ठप्प भएको छ । 

बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरुले आज बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेका छन् । उनीहरुले बिहानदेखि नै उपकुलपति कार्यालयअघि धर्नामा बसेका छन् । शिक्षक कर्मचारहिरुले आज बिहानसम्म कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए । तर, विदामा बसेका कार्की प्रतिष्ठानमा नै आएका छैनन् ।

शिक्षक कर्मचारीहरुले काम छोडेपछि प्रतिष्ठानको इर्मजेन्सी, आइसियु, डाइलाइसिस र वार्डमा भर्ना भएका विरामीहरुबाहेकको सम्पुर्ण सेवा ठप्प भएको छ । आज बिहानैदेखि ओपिडी बिल काउन्टर पनि खुलेन, जसले गर्दा उपचार सेवाबाट नयाँ विरामीहरु बञ्चित भएका छन् । वार्डमा भर्ना भएका विरामीहरुको मात्र उपचार सेवा जारी हुनेछ भने वार्डमा भर्ना भइसकेका पुर्वनिर्धारित अप्रेशनहरु मात्र सञ्चालन हुनेछ । यस्तै, शिक्षकहरुले पनि सेवा बहिष्कार गरेपछि पठनपाठन र परिक्षाका कार्यक्रमहरु पनि प्रभावित हुन पुगेको छ । 

बषौंदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गर्दै शिक्षक, कर्मचारीहरुले पटक पटक आन्दोलन गरेका थिए । गत कार्तिक २० गते आन्दोलनरत शिक्षक, कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै ४ बुँदे सहमति गरेको थियो । उक्त सहमति वमोजिम आवश्यक विधि र प्रक्रिया पुरा गरेर पुष २ देखि १५ गतेसम्म अन्तर्वार्ता सुचारु गर्नुपर्ने भएपनि कार्यान्वयन नभएपछि पुनः शिक्षक, कर्मचारीहरु आन्दोलित भएका हुन् । उपकुलपति डा.कार्कीले कार्यकारिणी बैठक बोलाएर आफै विदामा बसेपछि आक्रोशित आन्दोलनकारीहरुले उनलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका छन् भने उनलाई बर्खास्त गर्न पनि कुलपति एवं प्रधानमन्त्रीलाई पत्राचार गरेका छन् ।