धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक दोस्रो दिन शनिबार पनि बस्न सकेन ।

प्रतिष्ठानका चार जना मध्ये तीन पदाधिकारीहरु काठमाण्डौं नगएपछि बैठक बस्न नसकेको हो । कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले का.स.बैठक शुक्रबार दिउँसो ४ बजेको लागि प्रतिष्ठानको सम्पर्क कार्यालय काठमाण्डौंमा बोलाएका थिए । तर, आन्दोलनरत शिक्षक कर्मचारीहरुले कार्यालय घेराउ गर्दै रेक्टर प्रा.डा.सञ्जिव शर्मा र रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलालाई काठमाण्डौं जान दिएनन् । 

शुक्रबारको बैठक बस्न नसकेपछि का.मु.उपकुलपति कार्कीले पुनः शनिबार ४ बजेको लागि बैठक आह्वान गरेका थिए । तर, शनिबार (आज) पनि अन्य पदाधिकारीहरु काठमाण्डौं नगएपछि बैठक बस्न सकेन । आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले का.स.बैठक प्रतिष्ठानमै बस्नुपर्ने र आफुहरुको एक सुत्रिय माग अवरुद्ध भएको बढुवाको अन्तर्वार्ता मिति तय गर्ने एजेण्डालाई प्राथमिकता दिनुपर्ने माग गर्दै आएको छ । 

रजिष्ट्रार प्रा.डा.संग्रौलाले शिक्षक, कर्मचारीहरुले समस्याको समाधान प्रतिष्ठानको केन्द्रीय कार्यालयबाट नै गर्नुपर्ने भन्दै काठमाण्डौं नजान आग्रह गरेपछि नगएको प्रतिक्रिया दिए । ‘शिक्षक, कर्मचारीहरुले समस्याको समाधान यहीबाट गर्नुपर्छ । हामी भिसिलाई आमन्त्रण गछौं, र एयरपोर्टमा फुलको माला लिएर स्वागत गर्न जान्छौं भने,’ उनले भने,‘उपकुलपतिलाई निषेधित क्षेत्र भनेको ब्यानर पनि निकालिसक्यौं, नजानुस् भनेर आग्रह गरेपछि काठमाण्डौं जान उपयुक्त ठानिन ।’

bp rajistrar

रजिष्ट्रार संग्रौलाले पनि का.मु.उपकुलपति नै धरान आउनुपर्ने धारणा राख्दै का.स.बैठक पनि यही बस्नुपर्ने बताए । बैठकले सिनेट बैठकको मिति तय गर्ने र अवरुद्ध भएको अन्तर्वार्ताको मिति पनि तोकेर तत्कालको गाँठो फुकाउनुपर्ने रजिष्ट्रार संग्रौलाले बताए । ‘सबैभन्दा पहिला अहिलेको गाँठो फुकाउ,’ उनले भने,‘नागरिक समाज, पत्रकार, जनप्रतिनिधि, राजनीतिक दललगायत सरोकारवालाहरुसँग यही अपिल गर्छु ।’