धरान: अन्तर वडास्तरीय २४ औं टेष्टी टेष्टी नुडल्स गोधुली रनिङ कप भोली शनिबारदेखि शुरु हुदैछ । 

आयोजक गोधुली क्लबले शुक्रबार धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । धरान १६ स्थित रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल वडा नं ५ र वडा नं ७ बीच हुनेछ । प्रतियोगिता माघ १३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ ।

क्लबका उपाध्यक्ष सतिश केसीका अनुसार यसपाली वडा नं २ र वडा नं १५ प्रतियोगितामा सहभागी हुने छैन । वडा नं २ ले सहभागिता नजनाएको हो भने वडा नं १५ लाई गत सँस्करणको फाइनलमा खेल अनुशासन विपरीत गरेको गतिविधिको कारबाही स्वरुप यो बर्ष खेल्न निषेध गरिएको हो । गत बर्ष फाइनल खेल शुरु भएको केही मिनेटमा नै वडा नं १५ का सबै खेलाडीहरु खेल छोडेर मैदान बाहिर निस्किएका थिए । सेमीफाइनल खेल पश्चात प्राटेस गरेको बिषयमा असन्तुष्टी जनाउदै वडा १५ का खेलाडीहरुले सामुहिकरुपमा मैदान छोडेका थिए । 

आयोजकका अनुसार विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार पुरस्कार पाउनेछ । साथै, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले पनि विजेता र उपविजेता टिमलाई थप २५ / २५ हजार नगद पुरस्कार दिनेछन् । यसले गर्दा प्रथम हुनेले कुल १ लाख ७५ हजार र दोस्रो हुनेले १ लाख नगद पुरस्कार पाउनेछ । यस्तै, वेष्ट प्लेयरले १५ हजार, हाइस्कोररले ७ हजार ५ सय र व्यक्तिगत अन्य पुरस्कार ५ हजार ५ सय दिइनेछ । 

भिडियो: