धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै विगत १७ औं दिनदेखि आन्दोलनरत शिक्षक, कर्मचारी संयुक्त संघर्ष समितिले मंगलबार उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि भएको घटनाप्रति खेद प्रकट गरेको छ । 

शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खान र कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति खेद प्रकट गरेका हुन् । शिक्षक, कर्मचारी संयमित भएर भद्र अवज्ञा मात्र गरिरहेको स्मरण गराउदै यस्ता अभद्र व्यवहार जो सुकैबाट भएको भएता पनि संघर्ष समितिको पुर्ण असहमति रहेको पनि प्रष्ट पारेका छन् । प्रतिष्ठान जस्तो प्राज्ञिक थलोमा यस्ता अवाञ्छित गतिविधि नगर्न नगराउन पनि विज्ञप्तीमार्फ संघर्ष समितिले सचेतसमेत गराएको छ । 

विना कारण अवरुद्ध भएको अन्तर्वार्ता पुनः सुचारु गर्ने गरि व्यवस्थापनसँग पटक पटक सहमति भएपनि लागु नभएपछि गत पुष २९ गतेदेखि शिक्षक, कर्मचारीहरु आन्दोलनमा छन् । मंगलबार भद्र अवज्ञा आन्दोलन १७ औं दिनमा प्रवेश गरेको छ । अदालतले तत्काल बढुवा प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेपनि भद्र अवज्ञा तथा आन्दोलन जारी रहेको पनि विज्ञप्तीमा खुलाइएको छ । 

bp andolan press copy