धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यकक्षमै आक्रमण प्रयास भएको छ ।

बिहान करिब साढे ११ बजे उपकुलपति कार्यालयमा भेट गर्न पुगेका ३ जना व्यक्तिहरुले डा.कार्कीलाई कार्यकक्षमै मोविलले छर्केर आक्रमण गरेका हुन् । युवाहरुले उपकुलपति कार्कीलाई मोविल प्रहार गरेपनी प्रहरीका सई कृष्ण भट्टराईले छेकेका थिए । जस्ले गर्दा मोविल उपकुलपतिलाई लाग्न पाएन ।

आक्रमण गर्ने तीन जनालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । उनीहरु बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको खुलेको छ । प्रहरीले पक्राउ गरेर लैजादै गर्दा उनीहरुले क्रान्तिकारी कम्युनिस्ट पार्टी जिन्दावाद, दलाल भिसी मुर्दावादको नारा लगाएका थिए ।

 जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीले पक्राउ पर्नेहरु भीमबहादुर सार्की, खेमबहादुर थापा र शेरबहादुर कटवाल भएको जानकारी दिए । उनीहरूबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । भिसीले बोलाए भेट गर्न गएकाहरुले नै खल्तीबाट मोविल झिकेर प्रहार गरे पनि प्रहरीले रोकेको प्रवक्ता एवम् डिएसपी भण्डारीले बताए ।

आन्दोलनरत कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले उक्त घटनामा आफुहरुको कुनै संलग्नता नभएको बताइन् । आफुहरु भद्र आन्दोलनमै रहेको भन्दै उनले भिसिले आफुहरुसङ्ग भेट गर्न नचाहेको कारण उपकुलपति कार्यालय भित्र प्रवेश नगरेको पनि स्पष्ट पारीन् ।

भिडियो: