धरान: मेयर हर्क साम्पाङ संघीय राजधानीको भ्रमण सकेर हिजो (बुधबार) धरान फर्किएका थिए । उनले आज बिहिबार कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै राजधानी भ्रमणको क्रममा मन्त्रालयहरुमा धरानको लागि माग गरेको योजनाहरुबारे जानकारी दिएका छन् ।

मेयर साम्पाङले आफ्नो भ्रमण बिशेष गरि सप्तकोशीबाट पानी धरान ल्याउने योजनाको लागि भएको खुलाए । डिपिआर तयार भइसकेको र राष्ट्रिय योजना आयोगमा पनि आवश्यक बजेट विनियोजनाको लागि पत्रसमेत गइसकेको उनले बताए । चालु आर्थिक बर्षको बजेटमा ११ करोड बजेट विनियोजन गरिएको र सोही बजेटबाट ठेक्का आह्वान हुने पनि उनले बताए । आगामी आर्थिक बर्षमा उक्त परियोजनाको लागि खानेपानी मन्त्रालयमा ठुलो आकारमा बजेट माग गरिएको उनले बताए । साथै, खानेपानी मन्त्रालयमा नै फोहोरमैला व्यवस्थापनको लागि सेनिटरी ल्याण्डफिल साइटलाई बजेट अनुरोध गरिएको मेयर साम्पाङले बताए । 

‘बिशेषतः कोशीको पानी ल्याउने योजनाकै लागि गएको थिए । योजना आयोगमा पनि गयौं । प्राविधिक अध्ययनहरु पुरा गर्नुपर्ने हो, ९९ प्रतिशत सकिएको छ, १ प्रतिशत बाँकी छ । त्यसमा लाग्नुपर्छ भनेर खानेपानी मन्त्रालयमार्फत, शिक्षामन्त्री हाम्रै संघीय प्रतिनिधिमार्फत पनि गराइरहेका छौं, यथाशीघ्र काम गर्ने गरि लागेका छौं,’ उनले भने ।

यस्तै, मेयर साम्पाङले आउदो आर्थिक बर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई कपास प्रशोधन गर्ने उद्योग स्थापना गर्न बजेट माग गरेको जानकारी दिए । साबुन उद्योगको लागि भवन बनाए पनि मेशिन खरीद गर्न लाखौं बजेट आवश्यक भएकोले त्यसको लागि पनि बजेटको अनुरोध गरेको साम्पाङले बताए । यस्तै, पर्यटन मन्त्रालयमा एयरपोर्टको लागि बजेट माग गरेको पनि उनले जानकारी दिए । साँगुरीगढी पदमार्गको लागि थप बजेट र बहुभाषिक पाठशालालाई पनि बजेट माग गरेको उनले जानकारी दिए ।

उर्जा जलस्रैोत तथा सिचाई मन्त्रालयमा हावाबाट विजुली निकाल्न ठुलो साइजको टर्वाइन राख्न माग गरेको मेयर साम्पाङले बताए । हाइटेन्सनलाई वाइपास गर्नको लागि पनि अनुरोध गरिएको उनको भनाई थियो । गृहमन्त्रालयमा पुगेर धरान फुस्रेमा सशस्त्र प्रहरीको स्थायी गुल्म नै स्थापनाको लागि अनुरोध गरेको र सशस्त्रलाई एउटा प्रहरी गाडी पनि मागेको उनले जानकारी दिए । 

भुमी व्यवस्था सहकराी तथा गरिबी निवारण मन्त्रालयमा सहकारीबाट ठगिएकाहरुलाई व्यवस्थित गर्न केन्द्र सरकारले बजेटमै सम्बोधन गरेर धरानलाई कार्यक्रमको माग गरेको उनले बताए । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा कोशी राजमार्ग बनाउन र मोटरेवल पुल धरान २० विष्णुपादुका कोकाह खोलामा बनाउन माग गरेको पनि उनले बताए । यस्तै, युवा तथा खेलकुद मन्त्रालयमा धरान रंगशालामा फ्लड लाइटको माग गरेको मेयर साम्पाङ बताए । साथै, धरान १७ को बीचघोपाको स्कुलमा भवन बनाउदा बास्केटवल कोर्ट भत्काइएकोले नयाँ कोर्ट बनाउन माग गरेको पनि उनले बताए । यस्तै, सहरी विकास मन्त्रालयमा विभिन्न वडामा सडक निर्माणको योजना माग गरिएको उनले बताए । 

भिडियो: