धरान: नेपाल स्काउटको कोशी प्रदेश आयुक्तमा धरान १६ का स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । 

कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं  सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा भण्डारीलाई नियुक्त गरेका हुन् । नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ। 

भण्डारी २०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहबाट स्काउटमा प्रवेश गरेका थिए । उनी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष पनि भएका थिए। २०६७ सालमा झापाबाट स्काउट आधारभुत तालिम लिएर स्काउट लिडर बनेका भण्डारीले २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिम समेत लिइसकेका छन्। 

साबिक तान्खुवा गाउँ बिकास समिती १ ,धनकुटामा जन्मिएका भण्डारी हाल धरान-१६ का स्थायी बासिन्दा हुन् । उनी शैक्षिक क्षेत्रमा पनि सक्रिय छन् । भण्डारी २०६८ मा सुनसरी जिल्ला स्काउट परिसद सदस्य, २०७७ सालमा प्रथम पटक संघीय संरचनामा स्काउट रुपान्तरण भए पछि कोशी प्रदेश तदर्थ समिति सदस्य भएका थिए । कोशी प्रदेशका स्काउट सदस्यता वृद्धि संयोजक समेत भैसकेका भण्डारीको प्रदेश आयुक्तको रुपमा ४ वर्षे कार्यकाल हुनेछ। 

प्रदेश आयुक्त नियुक्ति पछि स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरुको हितमा लाग्ने भण्डारीले प्रतिक्रिया दिएका छन् । नवनियुक्त प्रदेश आयुक्तले अब ११ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्नुपर्ने हुन्छ ।