धरान: प्रोफेसर पदको दुरुपयोग गरेको आरोपमा भ्रष्टचार मुद्दा दर्ता भएर निलम्बनमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सफाई पाएका छन् । 

उपकुलपति डा.गिरीसँगै मुद्दा दायर भएका विराट मेडिकल कलेजका अध्यक्ष प्रा.डा.ज्ञानेन्द्रमान सिंह कार्कीले पनि बिशेष अदालतबाट मंगलबार सफाई पाएका हुन् । उनीहरुलाई न्यायाधिशद्धय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले सफाई दिने फैसला गरेको बिशेष अदालतले जनाएको छ । अदालतबाट सफाई पाए पछि प्रतिष्ठानको उपकुलपतिमा पुनः गिरी वहाल भएका छन् । 

उपकुलपतिमा नियुक्त भएका डा.गिरी प्राध्यापक नभएपनि प्राध्यापक पद लेख्ने गरेका थिए । उनले नपाएको ओहदा पाएको भनेर दुरुपयोग गरि भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्रोफेसर पद प्राप्त गरेको नदेखिए पनि ओहदा लेखेर दुरुपयोग गरेको र उक्त कार्य भ्रष्टचार निवारण ऐनको दफा १५ वमोजिम कसुर गरेकोले मुद्दा दायर गरेको अख्तियारको भनाई थियो ।

यस्तै, डा.गिरीलाई प्राध्यापक पद अनुमोदनको लागि काठमाण्डौं विश्वविद्यालयमा सिफारिश गर्नसक्नेमा आफैले नियुक्ती दिएर मतियारको भुमिकामा देखिएको भन्दै अख्तियारले विराट मेडिकल कलेजका अध्यक्ष डा.कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको थियो । डा.गिरी निलम्बनमा परेपछि प्रतिष्ठान उपकुलपति विहिन छ । हाल स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्राध्यापक डा.प्रह्लाद कार्कीलाई कायममुकायम उपकुलपति नियुक्ती गरेका थिए । डा.गिरीले सफाई पाएपछि अब का.मु.उपकुलपति डा.कार्की पदबाट स्वत हट्नुपर्ने भएको छ ।