धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पदवहाली गरेका छन् ।

बिशेष अदालतबाट भ्रष्टचार मुद्दामा सफाई पाएपछि आज (बिहिबार) डा.गिरीले पदवहाली गरेका हुन् । उनी प्रतिष्ठान प्रवेश गर्दा पदाधिकारी, कर्मचारी तथा शिक्षकहरुले स्वागत गरेका थिए । पदवहाली गरेपछि डा.गिरीले अदालतबाट न्याय पाएको र आफुले पनि सबैलाई न्याय गर्ने बताए । शिक्षक, कर्मचारीहरुको अन्तर्वार्ता नरोक्ने भन्दै उनले आफैले शुरु गरेको बढुवा प्रक्रिया अन्त्य गर्न पनि आफुले पाउदा खुशी लागेको प्रतिक्रिया दिए ।

विगतमा भएको घटनाहरुलाई बिर्सेर अघि बढ्न आग्रह गर्दै डा.गिरीले रोडम्याप बनाएर प्रतिष्ठानको सर्वांगिण हितमा लाग्ने पनि प्रतिवद्धता जनाए । आफुसँग वदलाको भावना नरहेको भन्दै उनले पदाधिकारीहरु एकढिक्का भएर काम गर्ने पनि बताए । साथै उनले पदाधिकारीसँगै प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुको पनि साथ, सहयोग आवश्यक हुने बताए । 

डा.गिरीले अदालतबाट सफाई पाएसँगै करिब ८ महिनादेखि प्रतिष्ठानको कायममुकायम उपकुलपतिकोरुपमा कार्यरत प्रा.डा.प्रह्लाद कार्की स्वतः विदा भएका छन् । उनले पनि बिहिबार विज्ञप्ती जारी गर्दै  का.मु.उपकुलपतिको जिम्मेवारी दिने स्वास्थ्यमन्त्रीलाई आभार व्यक्त गरेका छन् भने सहयोग गर्ने प्रतिष्ठान परिवार, नागरिक समाज, राजनैतिक दल, सरोकारवाला सबैलाई धन्यवाद पनि दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते बिशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्रोफेसर पद प्राप्त गरेको नदेखिए पनि ओहदा लेखेर दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

यस्तै, डा.गिरीलाई प्राध्यापक पद अनुमोदनको लागि काठमाण्डौं विश्वविद्यालयमा सिफारिश गर्नसक्नेमा आफैले नियुक्ती दिएर मतियारको भुमिकामा देखिएको भन्दै अख्तियारले विराट मेडिकल कलेजका अध्यक्ष डा.कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको थियो । अदालतले दुवैलाई सफाई दिने फैसला गरेको छ । 

भिडियो: