धरान: तीन दिने बाह्रसिंगे प्रोएम ओपन गल्फ प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । 

कोशी प्रदेश गल्फ संघको आयोजनामा धरान १८ स्थित गल्फ कोर्षमा पहिलो दिन प्रोफेस्नलतर्फको खेल सम्पन्न भएको छ । पार ७० को गल्फ कोर्षमा प्रोफेस्नलतर्फ लेभल पार ७० को स्कोर खेल्दै थामबहादुर राई प्रथम भएका छन् । उनले फ्रन्ट नाइट र ब्याक नाइनमा समान इभन पार ७० को स्कोर खेलेका थिए । 

यसैगरि, प्रतियोगितामा २ ओभर ७२ स्कोर खेल्दै बलभद्र राई (मणी) दोस्रो भएका छन् । उनले फ्रन्ट नाइनमा १ अण्डर ३५ को कोर्ड बनाए भने ब्याक नाइनमा ३ ओभर ३७ को कार्ड बनाएका थिए । यस्तै, समान ४ ओभर ७४ स्कोर खेलेका प्रोफेस्नल खेलाडी युवराज भुजेल र नेपालकै नम्बर वान खेलाडी शुक्रबहादुर राई संयुक्त तेस्रो भएका छन् । 

यस्तै, ६ ओभर ७६ स्कोर खेलेका राजेन राई र निरज तामाङ संयुक्त पाँचौ भएका छन् । प्रतियोगितामा ७ ओभर ७७ स्कोर खेलका देवराज पाख्रिन सातौं र १७ ओभर ८७ स्कोर खेलेका सुमन सापकोटा आठौं स्थानमा छन् । तीन दिने प्रतियोगिताको पहिलो दिन बिहिबार कोशी प्रदेशका प्रोफेस्नल ८ जना खेलाडीहरुबीच प्रतिस्पर्धा भएको हो । 

भोली (शुक्रबार) र शनिबार एमेच्योर खेलाडीहरुबीच मात्र प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रोएम प्रतियोगिताको पुरस्कार वितरण भने शनिबार इटहरी २ स्थित वेस्ट्न सोल्टी होटलमा हुनेछ ।