धरान: महिला उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्दै उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले धरानमा तेस्रो मार्केट मार्च हुने भएको छ । 

धरान १८ स्थित झुनास फिट्नेसको आयोजनामा यही फागुन २८ र २९ गते २ दिने मार्केट मार्च हुने भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम गर्न लागेको बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । दुई दिने मार्कोट मार्चमा ३० वटा स्टल रहने झुनाज फिटनेसकी प्रोपाइटर झुना राईले जानकारी दिइन् । उक्त मिनी मेला धरान(१८ विकास मार्ग बिपी डेन्टल गेट अगाडि रहेको झुनास फिट्नेस एन्ड वेलनेसमा हुनेछ ।

सञ्चालिका राईका अनुसार मार्केट मार्चमा महिला उद्यमीले उत्पादन गरेका सामग्रीहरुको बिक्री तथा प्रर्दशनीमा राखिनेछ । महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सके स्वतःआत्मविश्वास बढेर जाने र अधिकार पनि स्थापित हुने उनले बताइन् । विगत ३ बर्षदेखि उनले एकल प्रयासमा यो कार्यक्रम गर्दै आएकी छिन् । 

मिनी मेलामा हेण्डिक्राफ्टका सामग्री, घर सजावटका समान, बुटिक तथा दैनिक प्रयोग हुने कपडाहरू, लोकल तथा पहाडी भेगका खाद्यान्नहरू, अर्ग्यानिक तरकारी र फलफूल, नर्सरी, उनीका कपडा, अचारहरू, जातीय परिकारहरूको स्टल हुनेछ । यी सबै महिला उद्यमीहरुको स्टलमा हुनेछ । 

यसपटक विशेष रूपमा नेपाल पब्लिकेसनका किताबहरू उपलब्ध हुने पनि आयोजकले जनाएको छ । महिला उद्यमी एवं महिला सञ्जालकी पुर्वअध्यक्ष सविता राईले महिला दिवसको अवसरमा उद्यमी, व्यवसायी महिलाहरूको जमघट बढाउन पनि कार्यक्रम आयोजना गरिएको बताइन् । महिला उद्यमीहरू बिच सहकार्य बढाउने उनको भनाई छ ।