धरान: ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा अखिल नेपाल महिला (अनेम) संघको स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

अनेम संघ धरान नगर कमिटीले धरान १७ स्थित पन्चकन्या मावि परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १०२ जनाले सेवा लिएको संघकी अध्यक्ष कल्पना शेर्पाले जानकारी दिइन् । महिलाहरुमा हुने पाठेघरको मूखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि निःशूल्क चेकजाँच र परामर्श दिने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताइन् । शिविरमा अनेम संघ केन्द्रिय समिति स्वास्थ्य विभाग सदस्य डा. रक्षा श्रेष्ठ, विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रमेश श्रेष्ठ र डा.ऋचा भट्टराईले सेवा दिएका थिए ।

शिवरमा वडा १७ का महिलाहरु सेवा लिन आएका थिए । अधिकाश महिलाहरुमा स्वास्थ्यमा समस्या भएको संघकी सचिव सृजना नेपाल बताईन् । “स्वास्थ्य उपचार पाउनेमा ९० प्रतिशत  महिलाहरुमा पाठेघरको मुखमा घाउ भएको पाईयो,”उनले भनिन् । डाक्टरहरुले समस्यामा भएका महिलाहरुलाई नजिकैको विपि अस्पतालमा थप उपचारका लागि जान सल्लाह दिएका छन् भने केहीलाई औषधी र परामर्श दिएका थिए । 

anema1

पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारका लागि महिलाहरु लाज, आर्थिक अभाव, जनचेतनको अभावका कारण समस्या जटिल नभएसम्म उपचारमा नजाने आयोजक संघकी अध्यक्ष शेर्पाले बताइन् । “विपि अस्पताल नजिकैको वडा भएर पनि कतिपय महिलाहरु चेतनाको अभाव, आर्थिक अभावका कारण उपचारमा जान सकिरहेको छैन् । हामीले ८ मार्चको सन्दर्भमा प्रत्यक्ष महिलाहरुको स्वास्थ्यमा सहयोग पुग्ने गरि यो शिविर संचालन गरेको हो,” उनले भनिन् ।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि अनेम संघकी केन्द्रीय सदस्य शुशिला पहाडीले ८ मार्च मनाउनुको कारणबारे प्रष्ट पारेकी थिइन् । कार्यक्रममा प्रदेश सांसद रमेश बस्नेत, नेकपा एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङ पनि उपस्थित थिए । कार्यक्रममा अनेमसंघको पुर्व नगर अध्यक्ष रञ्जु भण्डारी र ज्येष्ठ महिला बालकुमारी भट्टराईलाई सम्मान पनि गरिएको थियो । भट्टराईले मदन भण्डारी, मनमोहन अधिकारीलाई सेल्टर दिएकी थिइन् भने महिला संगठन विस्तार गर्न भुमिका निर्वाह गरेकी थिइन् ।