धरान: ट्याक्टर व्यवसायीहरुले धरानको सेउती, सर्दुलगायत खोलाबाट राजश्व तिरेर ढुंगा, मिक्स गिट्टीलगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गरेका छन् । 

व्यवसायीहरुले मंगलबार दिउँसो मेयर हर्क साम्पाङलाई भेटेर यस्तो अनुरोध गरेका थिए । तर, मेयर साम्पाङले भने खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आवश्यक पर्ने बाहेक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न नदिने अडान लिएका थिए । मेयर साम्पाङसँग भेट गरिसके पछि ट्याक्टर व्यवसायीहरुले आकस्मिकरुपमा पत्रकार सम्मेलन गर्दै बुधबार बिहान ११ बजेसम्म वार्तामा बोलाउन अल्टिमेटम दिएका छन् । 

ट्याक्टर व्यवसायी संघका अध्यक्ष बिक्रम तामाङले बिहान ११ बजेसम्म वार्तामा नबोलाए आफुहरु आन्दोलनमा उत्रने बताए । मध्याह्न १२ बजेदेखि धरानका सम्पुर्ण ट्याक्टरहरु उपमहानगरपालिकामा जिम्मा लगाउने निर्णय भएको उनले बताए । 

नगरपालिकाले खोला ठेक्का नलगाउने भए पनि मापदण्ड वमोजिम ढुंगागिट्टी निकासी गर्न दिइनुपर्ने ट्याक्टर व्यवसायीहरुको माग छ । त्यसवापत आफुहरु नगरपालिकालाई कर तिर्न तयार रहेको उनीहरुको भनाई छ । अहिले लुकीचोरी नदीजन्य पदार्थ लगिरहेको र नगर प्रहरीले नियन्त्रणमा लिइरहेको भन्दै उनीहरुले गरिखाने मजदुरहरुलाई धेरै समस्या भएको गुनासो पोखेका छन् । साथै, व्यवसायीहरुले पनि बैंकबाट ऋण लिएर ट्याक्टर किनेको र किस्ता तिर्न नपाएर समस्या भइरहेको गुनासो गरेका छन् । 

मेयर साम्पाङ भने खोला ठेक्का नलगाउन र जथाभावी उत्खनन् गर्न नदिने अडामा छन् । कार्यपालिका बैठकबाट नै ठेक्का नलगाउने निर्णय पनि भइसकेको छ । विकास निर्माणमा आवश्यक परे नगरले आफैले मापदण्ड अनुसार मात्र निकासी गर्ने निर्णय भएको छ । 

भिडियो:

भिडियो: