धरान: विगत तीन बर्षदेखि परिवर्तनका लागि सामाजिक अभियानले धरानका विभिन्न वडाहरुमा निःशुल्क सामाजिक स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

अस्पतालहरुमा पुग्न समस्या हुने ज्येष्ठ नागरिकहरुलाई घर नजिकै उपचार सेवा तथा परामर्श दिने उद्देश्यले सामाजिक स्वास्थ्य शिविर गरिएको हो । यो शिविरमा बिशेष गरि मुटु, मधुमेह र रक्तचापका विरामीहरुको स्वास्थ्य परीक्षण हुन्छ । विरामीहरुलाई वरिष्ठ मुटु रोेग विशेषज्ञ डा. प्रशान्त शाहले परिक्षण गर्छन् । साथै, निःशुल्करुपमा सुगर परिक्षण र औषधि वितरण पनि हुने गरेको अभियानका अध्यक्ष विष्णु बरालले बताए । 

उनका अनुसार यो अभियान ज्येष्ठ आमा बुबाको सुस्वास्थ्य र दीर्घायुको लागि लक्षित हो । शिविर पाक्षिकरुपमा दोस्रो साताको शनिबार आयोजना हुन्छ । हालसम्म ५ हजार बढी ज्येष्ठ नागरिकहरु यो शिविरबाट लाभान्वित भइसकेको पनि अध्यक्ष वरालले जानकारी दिए । उनले भने,“हामीले बुवाआमाको सुस्वास्थ्य र दीर्घायुको निम्ति विगत ३ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरिरहेका छौं । अहिलेसम्म ५ हजार बढीले सेवा पाइसक्नु भएको छ ।” 

6 copy

शिविरमा मुटुका विरामीहरुको पेसमेकरको अवस्था, ब्याट्रीको जाँच र आयुको पनि जाँच गर्ने गरेको उनले बताए । बिरामी हुनुभन्दा रोग लाग्न नदिन विशेष गरि खानपान सम्बन्धमा डाक्टर शाहले सुझाव दिने गरेको समेत बरालको भनाई छ । यो शिविर धरानका वडाहरु र सामाजिक संस्थाहरुसँग सहकार्य गरेर गरिने पनि उनले बताए । 

यही शनिबार (चैत्र ३ गते) धरान रेडिमेट व्यापार संघको सहकार्यमा शिविरको ५४ औं संस्करण पनि सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य संघको भवनमा आयोजित शिविरमा ९५ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको कार्यक्रम संयोजक सुशिर बरालले बताए । शिविरमा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स उषा चौधरी र स्वेता भण्डारीले रक्तचाप र सुगर परिक्षण परिक्षण गरेका थिए । 

1 (6) copy

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शिविरको समापन कार्यक्रममा धरान रेडिमेड संघका अध्यक्ष ज्ञानशोभा शाक्यले यस्तो कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशीसँगै आभार प्रकट गरेकी थिइन् । उक्त कार्यक्रममा मोहन श्रेष्ठ, वर्षा श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।