विराटनगर: केन्द्रमा सत्ता गठबन्धन फेरिदैमा कोशी सरकार हलचल नहुने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । 

मुख्यमन्त्री कार्कीले शुक्रवार झोराहाटमा नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले आयोजना गरेको विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन यस्तो दाबी गरेका हुन् । उनले प्रदेश सरकार संविधानअनुसार गठन भएकोले सोही अनुसार अघि बढ्ने पनि बताए ।  ‘संविधान अनुसार बनेको सरकार हो । सरकार गठन हुदा पनि केन्द्रको गठबन्धनको आधारमा भएको थिएन,’ उनले भने, 'अहिले केन्द्र सरकार तलमाथि हुदैमा पनि प्रदेश सरकार केही हुने वाला छैन ।'

कार्यक्रममा झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी सुशीला पाठकलाई प्रदान गरिएको थियो । यस्तै छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान अन्तरगत झोराहाट स्थित सरस्वती माविका पूर्व शिक्षक शिवनारायण चौधरी र हरिनारायण दासलाई गरिएको थियो ।छात्रवृत्ति पाउने विद्यार्थीहरूमा दिनेश खत्री, दीपिका कुमारी कार्की, मल्लीका विश्वास, आरती सरदार रहेका छन् ।

मुख्यमन्त्री कार्कीले पुरस्कार वितरण गर्दै समाजमा योगदान पुर्याउनेहरुप्रतिको सम्मानले खुसी तुल्याएको बताए । ‘यो ज्ञान कक्षाकोठा बाहिरको ज्ञान हो जसले समाजका लागि सोचेर आज सम्मानित हुनुभएको छ । त्यस कारण प्रमाणपत्रमा अङ्कको मात्र मापनले सिकाई पूर्ण हुन सक्दैन,’ उनले भने ।