धरान: तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिता शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा शुक्रबार उद्घाटन खेलमा वडा नं १३ ले वडा नं १४ लाई ४–१ गोलअन्तरले हरायो । वडा नं १३ को जितमा विवेक राईले २ गोल गरे भने मिलन लिम्बु र सुशान्त राईले एक एक गोल गरेका थिए । वडा नं १४ का विवेक राईले सान्त्वना गोल गरे । 

वडा १३ का मिलन राईले पहिलो हाफको तेस्रो मिनेटमै गोल गरेका थिए भने विवेक राईले पहिलो हाफको १३ औं र दोस्रो हाफको ५० औं मिनेटमा गोल गरेका थिए । सुशान्त राईले दोस्रो हाफको ७४ औं मिनेटमा गोल गरे । वडा १४ का विवेक राईले दोस्रो हाफको ६१ औं मिनेटमा गोल गरेका थिए । उद्घाटन खेलको म्यान अफ दि म्याच वडा १३ का विवेक राई घोषित हुदै नगद पुरस्कार हात पारे ।

जितसँगै वडा १३ ले महत्वपुर्ण ३ अंक बटुलेको छ । प्रतियोगितामा शनिबार वडा नं ११ र १८ बीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले गरेका थिए । बैशाख २३ गते फाइनल हुने प्रतियोगितामा गत माघमा सम्पन्न भएको २४ औं गोधुली रनिङ कपका क्वार्टरफाइनल खेलेका ८ वटा वडाका टिमहरु सहभागी रहेको छ ।

IMG_0051 copy

लिग कम नकाउटको आधारमा हुने प्रतियोगितामा कुल १५ वटा खेल हुनेछ । ती मध्ये समुह चरणका १२ वटा खेल लिगको आधारमा हुनेछ । अंकको आधारमा समुहका विजेता र उपविजेता टिम सेमीफाइनल प्रवेश गर्नेछ, र सेमीफाइनल र फाइनल खेल नकआउट आधारमा हुने आयोजक हाम्रो धरान भेट्रान क्लबका अध्यक्ष अशोक राईले जानकारी दिए । 

गोधुलीको २४ औं सँस्करणको विजेता वडा १३ र उपविजेता वडा १७ भएको थियो । यी दुई वडाबाहेक क्वार्टरफाइनल खेल्ने वडाहरु ५, ६, ८, ११, १४ र १८ पनि सुपर ८ मा सहभागी हुनेछ । सुपर ८ को विजेताले ट्रफीसहित २ लाख ५५५ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५५५ रुपैया पाउनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, हाइस्कोर र उत्कृष्ट प्रशिक्षकले पनि नगद पुरस्कार पाउनेछ । 

स्वर्गीय सुवास राईले धरानको खेलकुदमा दिएको योगदानको कदर गर्दै यो प्रतियोगिता आयोजना भएको हो । राई वडा नं १७ का पुर्ववडाअध्यक्ष पनि हुन् भने धरान फुटबल क्लबका अध्यक्ष पनि भएका थिए । यस्तै, स्वर्गीय मेयर तारा सुब्बाको कार्यकालमा गठन गरिएको धरान खेलकुद विकास समितिमा अध्यक्ष पनि थिए ।