धरान: तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिता बैशाख ७ गतेदेखि शुरु हुने भएको छ । 

आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित रंगशालामा बैशाख ७ देखि २३ गतेसम्म सुपर ८ को तेस्रो सँस्करण हुने जानकारी दिएको हो । सोही रंगशालामा पुष १० गतेदेखि २२ गतेसम्म तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता पनि आयोजना हुने आयोजक क्लबले जानकारी दिएको हो । 

सुपर ८ प्रतियोगिताका संयोजक हेमकुमार गुरुङका अनुसार गत माघमा सम्पन्न भएको २४ औं गोधुली रनिङ कपका क्वार्टरफाइनल खेलेका ८ वटा वडाका टिमहरु सहभागी हुनेछन् । लिग कम नकाउटको आधारमा हुने प्रतियोगितामा कुल १५ वटा खेल हुनेछ । ती मध्ये समुह चरणका १२ वटा खेल लिगको आधारमा हुनेछ । अंकको आधारमा समुहका विजेता र उपविजेता टिम सेमीफाइनल प्रवेश गर्नेछ, र सेमीफाइनल र फाइनल खेल नकआउट आधारमा हुनेछ । 

गोधुलीको २४ औं सँस्करणको विजेता वडा १३ र उपविजेता वडा १७ भएको थियो । यी दुई वडाबाहेक क्वार्टरफाइनल खेल्ने वडाहरु ५, ६, ८, ११, १४ र १८ पनि सुपर ८ मा खेल्नेछन् । सुपर ८ को विजेताले ट्रफीसहित २ लाख ५५५ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५५५ रुपैया पाउनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, हाइस्कोर र उत्कृष्ट प्रशिक्षकले पनि नगद पुरस्कार पाउनेछ । 

super 8, 1

आयोजक हाम्रो धरान भेट्रान क्लबका अध्यक्ष अशोक राईले स्वर्गीय सुवास राईले धरानको खेलकुदमा दिएको योगदानको कदर गर्दै यो प्रतियोगिता शुरुवात गरिएको बताए । धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगिताको पहिलो सँस्करण भने धरान भेट्रान फुटबल क्लबले गरेको थियो । दोस्रो सँस्करणदेखि हाम्रो धरान भेट्रान फुटबलले प्रतियोगिता आयोजनाको जिम्मा लिएको हो । 

प्रतियोगिताको लागि उपमहानगरपालिकाले ५ लाख विनियोजन गरेको छ भने स्वर्गीय सुवास राईको परिवारबाट पनि आर्थिक सहयोगको प्रतिवद्धता रहेको छ । साथै, अफिसियलहरुलाई परिवारबाट टिसर्ट उपलब्ध भइसकेको क्लबले जनाएको छ । पत्रकार सम्मेलनमा स्वर्गीय राईका कान्छा भाई उमेरसिंह राई पनि उपस्थित थिए ।

हाम्रो धरान भेट्रान प्रतियोगितामा १२ टिम सहभागी हुने

तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा १२ टिम सहभागी हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता बैशाख १० गतेदेखि धरान रंगशालामा शुरु हुनेछ ।

प्रतियोगितामा मिल्स भेट्रान, दुबही भेट्रान, दुधे भेट्रान, लखनपुर भेट्रान, उर्लाबारी भेट्रान, धरान भेट्रान, मेघा भेट्रान, हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजारानी भेट्रान, हाम्रो इटहरी भेट्रान र भरौल भेट्रान सहभागी हुने प्रतियोगिताको संयोजक राकेश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा यसपाली मधेश प्रदेशबाट पनि टिम सहभागी हुदैछ ।

प्रतियोगिताका खेलाडीहरु ४० बर्ष उमेर नाघेका हुनुपर्नेछ भने टिममा एक जना ५० बर्ष नाघेका र २ जना ४८ बर्ष नाघेका खेलाडी अनिवार्य हुनुपर्ने पनि संयोजक राइले बताए । बैशाख २२ गते फाइनल हुने प्रतियोगिताको विजेताले १ लाख ५ रुपैया र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ६० हजार ५ रुपैया हात पार्नेछ । साथै, वेष्ट प्लेयर, वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्ड, हाइ स्कोर र बेष्ट कोचले पनि नगद पुरस्कार पाउनेछन् ।

भिडियो: