धरान: नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कोशी प्रदेशको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । 

उक्त अधिवेशनले टङ्कप्रसाद दवाडीको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा धन बहादुर श्रेष्ठ, सचिवमा हरि थापा, सहसचिवमा उमेश बस्नेत र कोषाध्यक्ष बुद्धिमान श्रेष्ठ चयन गरेको छ । सदस्यहरूमा मिलन क्षेत्री, हेमराज दाहाल र नइम अन्सारी चयन भएका छन् ।

उक्त अधिवेशन नेपाली काँग्रेसका प्रदेश सभापति तथा प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नेता थापाले यातायात क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । 

अधिवेशनको विशिष्ट अतिथि योगेन्द्रनाथ कर्मचार्यले यातायात व्यवसायी र मजदुरहरूलाई राज्यबाट हेर्ने दृष्टिकोण राम्रो नभएको र सधै तेस्रो दर्जाका नागरिकको रूपमा हेर्ने गरेको भन्दै असन्तुष्टी व्यक्त गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष विजय बहादुर स्वारले राज्यको जिम्मेवार निकायहरू यातायात क्षेत्रमा समस्या समाधान गर्न गम्भीर नभएको बताए ।

संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र रिमालको सभापतित्वमा भएको अधिवेशनमा काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, यातायात व्यवसायी महासङ्घका पूर्व अध्यक्ष हिरा उदास, धरानका निवर्तमान मेयर तिलक राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।