धरान: कतै तपाईमा उच्च रक्तचापको समस्या त छैन ? यो प्रश्नको जवाफ पाउन तपाई हरेक बिहान ८ बजेदेखि ११ बजेसम्म धरानको भानुचोकस्थित घण्टाघरमा पुगेर पाउनसक्नुहुनेछ ।

केएचडिसि नेपाल र पिएसआरएनको सहकार्यमा यहाँ मे महिनाभरि (बैशाख २० देखि जेठ १८ सम्म) निःशुल्क जाँच भइरहेको छ । विश्व स्वास्थ्य संगठनले उच्च रक्तचाप छ कि छैन भनेर सचेतना फैलाउन मे मेजरमेन्ट मन्थ घोषणा गरेअनुसार धरानमा पनि यी दुई संस्थाको सहकार्यमा मे महिनाभरि निःशुल्क जाँचको प्रबन्ध गरिएको हो ।

may

सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी इकाइ धरान (पिएसआरएन)का महासचिव विनमजंग महतका अनुसार यो महिनाभरि ब्लड प्रेसर (उच्च रक्तचाप) को मात्र नभै सुगर, क्रिटिनाइन र बिएमआईको पनि निःशुल्क जाँच गरिनेछ । ‘घण्टाघरमाम बिहान ८ बजेदेखि ११ बजेसम्म निःशुल्क जाँच भइरहेको छ, मे महिनाभरि नै यो सेवा रहन्छ,’ महासचिव महतले भने ।

उनका अनुसार उच्च रक्तचाप छ कि छैन भनेर पत्ता लगाउने र छ भने कसरी बच्ने, आहारविहार कस्तो अपनाउने भन्ने जानकारी गराउन मे मेजरमेन्ट मन्थको प्रमुख उद्देश्य रहेको छ । यस्तै, सुगर छ भने कसरी नियन्त्रण गर्ने भनेर जानकारी गराउने पनि उद्देश्य हो । ‘एक जना मेडिकल अफिसर पनि त्यही रहनुहुन्छ । उहाँले आवश्यकता अनुसार सुझाव दिनुहुन्छ,’उनले भने ।