धरान: बाह्र बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मुल आयोजक समितिले धन्यवाद तथा सम्मान कार्यक्रम गरेको छ । 

सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा मेला सम्पन्न गर्न सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । महाकुम्भ गत चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म आयोजना भएको थियो । मेला आयोजक धरान उपमहानगर समिति संयोजक पितरुमल अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जगदगुरु बालसन्त मोहनशरण देवाचार्य रहेका थिए । संघसंस्थाहरुलाई जगदगुरु देवाचार्यले नै सम्मानपत्र प्रदान गरेका थिए ।

kumva1

जगतगुरु देवाचार्यले धरानबासीहरुको सहयोगले नै पिण्डेश्वर महाकुम्भ मेला सफल भएको बताए । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले महाकुम्भ मेलाले धरानको पनि व्यापार, व्यवसायलाई चलायमान बनाएको भन्दै खुशी व्यक्त गरे । मेलाको अवधिमा धरानका सबै होटल तथा लजहरु भरिभराउ भएर पाहुनाहरुलाई भेडेटार, इटहरीसम्म बास बस्न पठाउनुपरेको उनले बताए । 

धरानका निर्वतमान मेयर तिलक राईले केही समय अघि धरानको सामाजिक तथा धार्मिक सद्भाव खलबलिएको अवस्था भएपनि महाकुम्भले सामाजिक, धार्मिक सहिष्णुतालाई अझ प्रगाढ बनाएको धारणा व्यक्त गरे । 

kumva2

प्रदेशसभा सदस्य ममता योञ्जनले महाकुम्भ मेलाले धार्मिक पर्यटन सर्किट बनाउन सक्ने सम्भावनालाई उजागर गरेको बताइन् । उनले धरानको विजयपुरगढीमा अवस्थित मठमन्दिर, चतराधाम, बराहक्षेत्र, विष्णुपादुका, रामधुनी समेटेर धार्मिक पर्यटन सर्किट बनाउनुपर्नेमा जोडदिइन् । प्रदेशसभा सदस्य रमेश बस्नेतले महाकुम्भ मेलाको बेला सडक पुर्वाधार र खानेपानी आपूर्ति व्यवस्थित नभएको समिक्षा गर्दे अर्को पटक लाग्ने मेलाको बेलामा बिशेष ध्यान दिनुपर्ने बताए ।