धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलका एक छात्राले बिहिबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याउन सफल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नतिजामा विष्णु स्कुलकी छात्रा गृष्मा लुइटेलले यो सफलता हात पारेकी हुन् । लुईटेल सर्वोत्कृष्ट ४ जिपिए नतिजा ल्याएर २०८० सालको एसईई परीक्षा उतिर्ण गर्ने धरानकी एक मात्र छात्रा हुन् भने सुनसरी जिल्लाकै २ मध्येकी एक हुन् । सुनसरीमा उनीसँगै इटहरीका अर्का एक विद्यार्थीले पनि ४ जिपिए नतिजा ल्याएका छन् । देशभरबाट १८६ जना मात्र ४ जिपिए ल्याउने विद्यार्थी छन् । कोशी प्रदेशमा सुनसरीका २, मोरंगका ८ र झापाका १ जना मात्र विद्यार्थीले ४ जिपिए नतिजा ल्याएका छन् ।

विष्णुका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार परीक्षामा १४२ जना विद्यार्थी सहभागी भएका थिए । ती मध्ये १ जनाले ४ जिपिए नतिजा ल्याएर उतीर्ण भएका छन् भने ३.६१–४.०० जीपीए (ए प्लस) सहित ९० जना, ३.२१–३.६ जीपीए (ए) सहित ४५ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

स्कुलले विगतका बर्षहरुमा पनि सतप्रतिशत उतीर्ण नतिजा ल्याउदै आएको थियो । तर, यो बर्षको नतिजामा भने इतिहासमै पहिलो पटक ४ जिपिएसहित अपेक्षा गरेभन्दा उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल श्रेष्ठले बताए ।  विष्णु स्कुलले २०५९ सालदेखि एसएलसी (हाल एसईई) परीक्षामा सहभागी भएको हो । एसएलसी हुँदै एसईई भएको परीक्षामा यो नतिजा २१ औं ब्याच भएको विद्यालयले जनाएको छ ।

यसपालीको नतिजा इतिहासमै सर्वोत्कृष्ट नतिजाका रुपमा लिएको विद्यालयका संस्थापक एवं अध्यक्ष वेनिन्द्र कटवालले मिडियालाई बताएका छन् । साथै यो सफलताको श्रेय उनले विद्यालयका शिक्षक–शिक्षिका, मेहनती विद्यार्थी र अभिभावकहरुलाई पनि दिएका छन् । यो विद्यालय २०४६ सालमा स्थापना भएको हो । २०५६ सालदेखि निम्न माध्यमिक तह, २०५९ सालदेखि माध्यमिक र २०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको अध्यापन भइरहेको छ ।