धरान: सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति पुर्याउन आदेश दिने धरानका मेयर हर्क साम्पाङ र उक्त कार्यमा संलग्नहरुलाई कारबाहीको माग गर्दे धरान वडा नं १३ का स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउ र नाराबाजी गरेका छन् । 

मंगलबार वडा नं १३ का स्थानीयबासी जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर घेराउ र नाराबाजी गरेका हुन् । प्रदेश सरकारको लगानीमा खहरेको कटानबाट क्षति रोक्न लगाएको ग्याबिङ जाली मेयर साम्पाङको निर्देशनमा तोडफोड गरिएको भन्दै कारबाहीको माग गर्दै उपभोक्ता समितिले यसअघि नै निवेदन दिइसकेको थियो । जिल्ला प्रशासनले सहायक प्रजिअलाई स्थगलत निरीक्षणमा पठाए पनि के रिपोर्ट दियो भन्ने खुलेको छैन ।

स्थानीय भारती राईको गुनासोको आधारमा मेयर साम्पाङले वडा कार्यालय र स्थानीयबासीसँग समन्वय नगरि, यथार्थ समेत नबुझी ग्याबिङ भत्काउन नगर प्रहरीलाई आदेश दिएको भन्दै वडाअध्यक्ष नेत्र काफ्ले र उपभोक्ता समितिले चर्को असन्तुष्टी जनाउदै आएको छ । मेयरको आदेशपछि नगर प्रहरी, केही व्यक्तिले ग्याबिङ भत्काइदिएका थिए । त्यसविरुद्ध वडा कार्यालय र उपभोक्ता समितिले मेयर साम्पाङसँगै ग्याबिङ काटेर सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्न सबैलाई कारबाहीको माग गर्दै निवेदन दिएको हो । जिल्ला प्रशासनले कारबाही गर्न चासो नदिएको भन्दै मंगलबार स्थानीयबासीहरुले घेराउ, धर्ना र नाराबाजी गरेका हुन् । यो घटनाले वडा नं १३ कार्यालय, वडाबासी र मेयर साम्पाङबीच द्धन्द चर्कदै गएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले घटनाबारे अध्ययन भइरहेको र प्रचलित कानुन, विधि र क्षेत्राधिकार अनुसार आवश्यक निर्णय लिने बताए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने, 'कानुन सबैलाई लागु हुन्छ । हामी अध्ययन गर्दैछौं । प्रचलित कानुन, विधि र क्षेत्राधिकार जे हो, त्यो अनुसार हुन्छ । प्रशासन मुकदर्शक भएर बस्दैनौं, आवश्यक निर्णय लिन्छौं ।'