धरान: जनताको गुनासो र सुझाव लिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा बुधबार धरान ७ स्थित सिद्धि नेवा परिषदको प्रांगणमा नागरिक सुनुवाई कार्यक्रम आयोजना भएको थियो ।

धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथि, उपमेयर अइन्द्रबिक्रम बेघा र सिडियो रामचन्द्र तिवारी बिशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा प्रहरीसँगका गुनासाहरु मात्र आएनन्, वडा नं १३ को खहरेमा मेयरको आदेशका ग्याबिङ जाली काटिएको घटनाबारे पनि स्थानीय दुई व्यक्तिले कुरा राखे । उनीहरुले उक्त घटनापछि गाउँमा दुई पक्षबीच हानाहान र मारामार हुने परिस्थिति सृर्जना भएको र कसैको ज्यान गए जिम्मेवारी कस्ले लिने ? भन्ने प्रश्नसमेत गरे । 

स्थानीय कुलबहादुर मगरले एकलौटीरुपमा मेयरले ग्याबिङ जाली भत्काइदिदा गाउँमा दुई पक्षबीच द्धन्द बढेको बताए । ‘कुन दिन कतिखेर मान्छे हानाहान हुन्छ, मारामार हुन्छ, त्यसको जिम्मेवार कस्ले लिने ? सधै द्धन्द झगडा राखेर हुदैन,’ उनले भने,‘कानुनी प्रक्रिया अनुसार समस्या समाधान गर्नुपर्छ, कारबाही हुनुपर्छ ।’ उनले राती हिड्न नहुने ढोकाबाट बाहिर निस्कन नहुने गरि भयावह स्थिति भएको पनि बताए । 

पछिल्लो समय धरानमा वडा १३ को यो घटनाले उग्ररुप लिएको छ । प्रदेशको बजेट ल्याएर खोला मिचेर ग्याबिङ जाली लगाएको भन्दै मेयर साम्पाङले नगर प्रहरी खटाएर भत्काइदिएका थिए । वडाअध्यक्ष नेत्र काफ्ले, उपभोक्ता समिति तथा स्थानीयबासी भने वडा कार्यालयसँग समन्वय नगरि, यथार्थ नबुझी मेयर साम्पाङले जनताले तिरेको करको बजेटबाट निर्माण भएको जाली क्षति पुर्याएको भन्दै विरोधमा छन् । 

मेयर साम्पाङले सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै कानुनी कारबाहीको माग गर्दै उपभोक्ता समिति तथा स्थानीयले जिल्ला प्रशासनमा उजुरी पनि गरेका छन् । हिजो (मंगलबार) स्थानीयहरुले कारबाहीको माग गर्दै इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा घेराउ तथा नाराबाजी पनि गरेका थिए । 

बाटो, खोला छेकेर बनाइने संरचना भत्काइन्छः मेयर साम्पाङ

नागरिक सुनुवाईमा प्रश्न उठेपछि जवाफ दिदै मेयर साम्पाङले खोलाको वहाव छेकेर बीचमा जाली लगाएकोले भत्काएको दाबी गरे । उनले उक्त जाली लगाउने बजेट कुन निकायबाट आएको हो भनेर वडाकै प्राविधिक, अमिनलाई पनि थाह नदिइएको भन्दै योजना कसरी फारफारक भयो भनेर प्रश्न गरे । ‘त्यसरी बाटो, खोला छेकेर बनाएको संरुचनालाई करेक्सन गर्ने अधिकार नगरपालिकासँग छ, त्यही अधिकार मैले प्रयोग गरेको हो,’ उनले भने ।

काठमाण्डौंमा ४, ५ तले घर भत्काइएको उदाहरण दिदै मेयर साम्पाङले धरानमा जाली भत्काएको विरोध गर्नु उचित नभएको पनि बताए । ‘हाइवे, खोला छेक्न खोजिन्छ भने त्यसलाई नगरपालिकाले करेक्सन गर्छ । काठमाण्डौंमा ४, ५ तले घर भत्काइदैछ, यहाँ जाली मात्र भत्काएको हो,’ उनले भने,‘वडाअध्यक्षलाई प्रश्न गर्नुस्, नगरको इञ्जिनियरलाई थाह दिइएन, तर वडाकोलाइ त थाह दिनुपर्छ नि । शिवधाराको कोशी राजमार्ग नक्सामा छेन, भोली त्यो व्यक्तिले तारबार हालेर दाबी गर्ला ? छोडिदिने हो त ?’

भिडियो:

भिडियो: