धरान: धरानको वडा नं २ लाई पनि बालमैत्री वडा घोषणा गरिएको छ ।

शिक्षा निकेतन माविको प्रांगणमा आइतबार आयोजित समारोहमा प्रमुख अतिथि एवं कोशी प्रदेश सभाकी सदस्य यशोदा कायस्थले वडा नं २ लाई बालमैत्री वडा घोषणा गरेकी थिइन् । वडा अध्यक्ष रमेश राईका अनुसार बालमैत्री स्थानीय शासनका सबै ५१ वटा सुचकहरु पुरा गरिएकोले वडालाई बालमैत्री घोषणा गरिएको हो । कुल ५१ वटा सुचकहरुमध्ये ५० वटामा सतप्रतिशत र एउटामा आवश्यक पर्ने ८० प्रतिशत सुचक पुरा भएको पनि अध्यक्ष राईले बताए । 

२०७८ सालको जनगणना अनुसार वडा नं २ मा ५१४ घरधुरी छ भने २२७५ जना जनसंख्या रहेको छ । तीमध्ये ११५१ महिला र ११२४ जना पुरुष रहेका छन् । २०८० सालमा गरिएको घरधुरी सर्वेमा १८ बर्षभन्दा कम उमेरका बालबालिकाको संख्या ३०३ रहेको छ । कुल बालबालिकाहरुमध्ये पनि बालक १४० र बालिका १६३ जना रहेको वडाअध्यक्ष राईले बताए । 

वडाअध्यक्ष राईका अनुसार बालबालिकाको लागि कुल पूजीगत खर्चको न्युनतम १५ प्रतिशत बजेट अनिवार्य छुट्याउने गरिएको छ भने हरेक साल बाल भेला गराएर बालबालिकाका योजनाहरु छनौट गरिने र निर्णय प्रक्रियामा बालबालिकाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको अध्यक्ष राईले बताए । कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश सांसद कायस्थ, बिशिष्ट अतिथि एवं उपमेयर अइन्द्रबिक्रम बेघा, शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

बालविकास केन्द्र र बाल उद्यान उद्घाटन

wada 2, bal

बालमैत्री वडा घोषणाको क्रममा वडा नं २ स्थित शिक्षा निकेतन माविमा बाल बिकास केन्द्र र बाल उद्यान पनि सञ्चालनमा ल्याइएको छ ।बालमैत्री वडाको सुचकमा बालमैत्री सिकाई केन्द्रसहित बाल उद्यान पनि आवश्यक पर्छ । शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाका अनुसार वडा नं २ ले निकेतन स्कुलमा बनाएको केन्द्र र बाल उद्यान अन्य वडाको लागि पनि नमुना बनेको छ ।

‘अन्य वडाले पनि सामुदायिक विद्यालयहरुका बालबिकास केन्द्रलाई यतिको बनाउन सहयोग गर्नुपर्छ,’ उनले भने,‘बालबालिकाको लागि अनिवार्य १५ प्रतिशत बजेट छुट्याउनु पर्छ । त्यही बजेटबाट सामुदायिक विद्यालयको बालविकास केन्द्रलाई बनाउने रसंस्थागत विद्यालयलाई बनाउन निर्देशन दिनुपर्छ । यो गर्ने वित्तिकै सबै बालबालिका केन्द्र यही स्तरको हुन्छ ।’

खतिवडाका अनुसार धरानको कार्यपालिकाले पास गरेको बाल बिकास केन्द्रको मापदण्ड वमोजिम नै शिक्षा निकेतनमा निर्माण गरिएको छ । मापदण्डमा बालबालिका ठोक्किदा पनि केही नहुने बालमैत्री फनिचर हुनुपर्छ भने आवश्यकता अनुसार सुत्ने पढ्ने, खेल्ने, खाने, टिभी हेर्ने, नाच्ने व्यवस्था हुनुपर्छ । वडाअध्यक्ष राईका अनुसार केन्द्रमा बच्चाहरु सुताउनको लागि ३ वटा बेडको व्यवस्था छ । उक्त बेडहरु एउटा आशिष श्रेष्ठ, एउटा आफ्नै बुबा आमाको नाममा र एउटा कक्षा १२ का विद्यार्थीको अभिभावकले सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए । 

भिडियो: