धरान: उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी सञ्चारकर्मी सञ्जिता धमलामाथि अस्पताल हाताभित्रै आक्रमण गरेको आरोपमा पाँच जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ गरेका पाँच महिलाहरुलाई तत्कालै जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो । उनीहरु मेयर हर्क साम्पाङ समर्थक महिलाहरु हुन् । यद्यपी, ती महिलाहरुले धमलालाई आक्रमण गरे, नगरेको पुष्टि भइसकेको छैन । धमलाले भने आफु र आफ्नो साथीलाई धमलालाई कुट्न आएको भन्दै ती महिलाहरुले पछाडिबाट लुगा तान्दै, लछारपछार गरेको र मोवाइल पनि खोस्ने प्रयास गरेको दाबी गरेकी छिन् । प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न पालो पर्खिरहेको बेला घटना भएको थियो ।

chakkajam

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा चन्द्रकला थेवे, मुना राई, प्रमिला राई, सर्मिला राई र फुलमाया मगरलाई पक्राउ गरेर जिल्ला सदरमुकाम इनरुवा लगेको छ । घटनामा उनीहरुको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको र म्याद थपको प्रक्रियामा रहेको जनाएको छ ।

यसअघि सार्वजनिक सुनुवाईमा दिएको विवादित अभिव्यक्ति, मेयर साम्पाङको कार्यकक्षमा अमर्यादितशैलीमा भनाभन, सामाजिक सञ्जालमा आरोप प्रत्यारोपपछि मेयरका समर्थकहरुबाट धमलाको चर्को आलोचना र धाकधम्की पनि आइरहेको थियो । धमलाले आफु असुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गर्दै जिल्लामा निवेदन दिएकी थिइन् ।

प्रहरीले अनुसन्धानको लागि वीपी प्रतिष्ठानबाट सिसिटिभी फुटेज पनि लिएर गएको छ । धमला स्वयमले सार्वजनिक गरेको एक फुजेटमा उनलाई केही महिलाहरुले वादविवाद गर्दै तानेर ल्याएको देखिन्छ । उनीमाथि भौतिक आक्रमण हुनुअघि नै एक्स रे गर्ने कोठाभित्र पसेर चुकुल लगाएको कारण चोटपटक नलागेको बताइएको छ । उनलाई प्रहरीले सुरक्षा दिएर प्रतिष्ठानबाट लगेको थियो।

प्रहरी कार्यालयमा घेराउ, भानुचोकमा चक्काजाम

dhamala4 copy

प्रतिष्ठान हाताबाट ५ जना महिलाहरुलाई पक्राउ गरेपछि मेयर साम्पाङका समर्थकहरु इलाका प्रहरी कार्यालय धरान पुगेका थिए । उनीहरुले धमलाविरुद्ध निवेदन दिएको लामो समय बितिसक्दा पनि प्रहरीले वेवास्ता गरेको, उल्टै महिलाहरुलाई पक्राउ गरेको भन्दै नाराबाजी पनि गरे । 

प्रहरीले पक्राउ गरेका महिलाहरुको बारेमा जानकारी नदिएपछि आक्रोशित भिडले प्रहरी कार्यालयको गेट जर्बजस्ती खोलेर भित्र प्रवेश गर्ने प्रयास पनि गरेको थियो । पछि प्रहरीले ५ जनालाई सिधै जिल्ला पठाएको जानकारी दिएपछि आक्रोशित भिड भानुचोक पुगेर चक्काजाम गरेको थियो । करिब आधाघण्टा भानुचोकमा यातायात आवागमन ठप्प पारेर कोणसभा गरेका थिए । उनीहरुले पक्राउ परेकाहरुलाई विनासर्त रिहा नगरे भोलीदेखि कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

dhamala2 copy

करिब दुई साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा धमलाले जनप्रतिनिधिहरुले पैसा लिएर नागरिकता सिफारिश गरेको सुचना आफुसँग भएको अभिव्यक्ति दिएकी थिइन् । सोही कार्यक्रममा उनले धरानमा यौनधन्दा बढेको र पहाडबाट आएकी एक युवती खर्च निकाल्न पार्टटाइम उक्त धन्दामा लागेको अभिव्यक्ति दिएकी थिइन् ।

जनप्रतिनिधिले पैसा लिएर नागरिकता सिफारिश गरेको भन्ने उनको अभिव्यक्तिबारे मेयर साम्पाङ सोही कार्यक्रममा र फेसबुकबाट पनि प्रमाण लिएर आउन भनेका थिए । नागरिक सुनुवाई सकेको २ दिनपछि मेयरको कार्यकक्षमा पुगेकी धमलाले आफ्नो चरित्र हत्या भएको भन्दै मेयर साम्पाङसँग चर्काचर्की परेपछि प्रहरीले बाहिर निकाल्ने क्रममा लछारपछार भएको थियो । उक्त घटनालगत्तै प्रशासनले छानबिन समिति गठन गरेर घटनाको बेला उपस्थित जनपद र नगर प्रहरीको वयानसमेत लिएको थियो । लगत्तै महिलाहरुले धमलाविरुद्ध प्रहरीमा निवेदन दिएका थिए भने र्याली र नाराबाजीसमेत गरेका थिए ।