धरान: महिला पत्रकार सञ्जिता धमलाविरुद्ध आइतबार धरानमा र्याली र नाराबाजी भएको छ ।
पहाडबाट पढ्न धरान आएका छात्राहरु पार्ट टाइम यौनधन्दा गरिरहेको भन्ने अभिव्यक्ति दिएकी पत्रकार धमलालाई कारबाही गर्न माग गर्दै महिलाहरुले नै र्याली निकालेका हुन् । उनीहरुले शनिबार साँझ पनि ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार धमलालाई झिकाउन माग गर्दै निवेदन दिएका थिए ।
आइतबार बिहान पनि करिब १० बजे प्रहरी कार्यालयमा पुगेका महिलाहरुले पत्रकार धमलाविरुद्ध नाराबाजी पनि गरेका थिए । उनीहरुले प्रेस स्वतन्त्रताविना पत्रकारले पनि जथाभावी बोलेको भन्दै धमलालाई कारबाही गर्नुपर्ने बताए । साथै पहाडबाट पढ्न धरान आएका छोरीचेलीहरु यौनधन्दामा लागेको भनेर अपमानजनक अभिव्यक्ति दिएकोले माफी माग्नुपर्ने पनि आन्दोलित महिलाहरुले माग गरेका थिए ।
डिएसपी मानबहादुर राईसँग छलफल पश्चात आन्दोलित महिलाहरुले प्रहरी कार्यालयदेखि भानुचोकसम्म र्याली निकालेका थिए । सो क्रममा धमलाविरुद्ध नाराबाजीसमेत गरेका थिए । डिएसपी राईसँगको छलफलमा धमलाविरुद्ध हिरामाया गुरुङले दिएको निवेदन जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिलाई बुझाउने र समितिको प्रतिवेदन वमोजिम हुने समझदारी भएको आन्दोलनरत महिलाहरुको भनाई छ । यद्यपी आन्दोलन भने जारी रहने उनीहरुले बताए ।
गएको बुधबार धरान ७ स्थित सिद्धि नेवा परिषदमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाईमा पत्रकार धमलाले दिएको अभिव्यक्तिले एकपछि अर्को लफडा सृर्जना भइरहेको छ । उनले धरानका जनप्रतिनिधिहरुले नागरिकता बनाउदा घुस लिने गरेको सुचना आएको तर ती व्यक्तिहरुले सार्वजनिक नगरिदिन भन्दै आग्रह गरेकोले सच्चिन, नत्र कुनै दिन बेइञ्जती खेप्नुपर्ने भन्दै चेतावनी दिएकी थिइन् ।
सोही कार्यक्रममा उनले धरानमा यौनधन्दा एकदमै बढेको, पहाडबाट पढ्न आएका विद्यार्थीहरु पार्टटाइम यौनधन्दामा रहेको अभिव्यक्ति दिएकी थिइन् । जनप्रतिनिधिले घुस लिएर नागरिकता दिएको भन्ने धमलाको उक्त अभिव्यक्ति पछि मेयर साम्पाङले प्रमाणसहित कार्यालयमा आउन भनेका थिए । शुक्रबार मेयरको कार्यकक्षमा पुगेकी धमलाले शुरुमा आफुले प्रमाण छ नभनेको, सुचना आएको छ मात्र भनेका दाबी गरिन् । पछि, प्रमाण भएपनि नदिने भन्दै प्रमाण माग गर्ने तपाई को हो ? भनेर चुनौती दिएकी थिइन् ।
मर्यादाबाहिरको चर्काचर्कापछि मेयर साम्पाङले प्रहरी बोलाएर धमलालाई बाहिर निकाल्न आदेश दिएका थिए । नगर प्रहरी र नेपाल प्रहरीले धमलालाई लछारपछार गर्दै बाहिर निकाल्ने क्रममा चोटपटक पनि लागेको थियो । यो प्रकरणले महिला पत्रकारलाई कार्यकक्षमा बोलाएर मेयर साम्पाङले प्रहरी लगाएर अपमानजनकतरिकाले निकालेको भन्दै आलोचना भइरहेको छ भने पत्रकार धमलाले पनि प्रमाणविना जथाभावी बोलेको, पहाडबाट आएका विद्यार्थीहरुलाई चरित्रहत्या हुने गरि अपमानजनक आरोप लगाएको भन्दै विरोध भइरहेको छ ।
कर्मचारी आन्दोलनमा पठाएको आरोप धमलाको आरोप
आफुविरुद्ध महिलाहरुले आन्दोलन गरेको बिषयमा पत्रकार धमलाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयर हर्क साम्पाङले नियुक्त गरेको कर्मचारीलाई आन्दोलन गर्न पठाएको आरोप लगाएकी छिन् ।
धमलाले इलाका प्रहरी कार्यालयमा घेराउ र नाराबाजी गर्न गएका महिलाहरुसँगै कर्मचारीहरु पनि गएको भन्दै नाम पनि उल्लेख गरेकी छिन् । साथै उनले नगरका प्रमुख प्रशासकीय अधिकृत मातहतमा चल्ने कर्मचारीहरु नागरिक र पत्रकार विरुद्ध बोल्न नमिल्ने हुँदा ती कर्मचारीहरुलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन माग पनि गरेकी छिन् ।
धमलाले मेयर साम्पाङले आन्दोलनमा तारिफ गर्न आफ्नै समर्थक पठाएको पनि टिप्पणी गर्दै करको दुरुपयोग भएको पनि उल्लेख गरेकी छिन् । ‘के तारिफ र समर्थन गर्नु कर्मचारी नियुक्त गरेको हो ?’ उनले फेसबुकमा लेखेकी छिन् । उनले अर्को पनि पोष्ट गरेकी छिन्, 'कर्मचारीहरु आन्दोलन गर्नु जादा पनि तलब पाइने रहेछ है..धरानतिर ।'
भिडियो: