धरान: सन्चारकर्मी सन्जिता धमलालाई बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आक्रमण प्रकरणमा थप एक जना महिला पक्राउ परेका छन् ।

प्रहरीले आज विहानै धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघालाई पक्राउ गरेको हो । उक्त ग्रीन टि मेयर हर्क साम्पाङ र उनका समर्थकहरु बिहान-बेलुका भेला हुने ठाउँ हो । हिजो बीपी हस्पिटलको रेडियोलोजी विभागमा एक्स रे गर्न पालो पर्खिरहेको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको धमलाको दाबी छ।

उक्त घटना लगत्तै पाँच जनालाई प्रहरीले हिजो नै पक्राउ गरेको थियो । उनीहरूलाई तत्काल रिहाइको माग गर्दै मेयर साम्पाङका समर्थकहरुले ईलाका प्रहरी कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए भने आधाघण्टा भानुचोकमा चक्काजाम पनि गरेका थिए ।

पक्राउ गरेको पाँच जना महिलाहरूलाई नछाडे कडा आन्दोलन गर्ने चेतावनी दिइरहेको बेला प्रहरी प्रशासनले भने झन् कडा गर्ने संकेत दिएको छ । आज बिहानै बेघा पक्राउ गरेको प्रहरीले हिजोको घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेको छ । ग्रीन टि साधा पोसाकका प्रहरीहरुको निगरानीमा छ, भने प्रहरीको पेट्रोलिङ पनि गरिरहेको छ ।