धरान: करार तथा अस्थायी सेवामा रहेका कर्मचारीहरुलाई विदा गर्नेबारे कार्यपालिकामा सहमति जुटेसँगै आज धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुने भएको छ ।

नगरसभा दिउँसो ३ बजे उपमहानगरपालिका प्रांगणमा नै राखिएको छ । यसअघि असार १० गते सैनिक भवन र असार ३१ गते वीपी प्रतिष्ठानको अडोटरियम हलमा आह्वान गरिएको नगरसभा विवादको कारण हुन सकेको थिएन । पछिल्लो पटक नगर प्रहरी प्रमुख विष्णु कोइराला र करार अन्त्य भएर जाने कर्मचारीहरुलाई म्याद थप गर्ने कि नगर्ने भन्ने विवाद चर्किएको थियो । 

नगर प्रहरी प्रमुख कोइरालालाई मेयर साम्पाङले आफ्नो निर्देशन पालना नगरेको भन्दै विदामा बस्न आदेश दिएका थिए, र उनलाई हटाउन चाहेका थिए । यस्तै, कानुन वमोजिम म्याद थप गर्न समस्या भएपछि अन्य करार कर्मचारीहरुलाई पनि मेयर साम्पाङले विदा गर्न चाहेका थिए । आजको कार्यपालिका बैठकमा भने २०७४ असोज २९ भन्दा अगाडि र पछाडिका करार तथा अस्थायी कर्मचारीहरुले स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा १६ को (ग) (३) वमोजिम लोकसेवामा भाग नलिनेहरुका लागि बिशेष सुविधा उपलब्ध गराउने निर्णय भएको छ । 

बिशेष सुविधा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक प्रतिवेदन तयार गर्न र बजेट व्यवस्थापनको लागि लेखा प्रमुख भेषराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । यो निर्णयसँगै नगर प्रहरी प्रमुख कोइरालासहित अन्य करार कर्मचारीहरुलाई बिशेष सुविधा (गोल्डेन ह्याण्डसेक) दिएर विदा गर्ने बाटो पनि खुलेको छ । 

karyapalika1 copy

नगर प्रहरी प्रमुख कोइरालाको बिषयमा भने उपमेयर अइन्द्रबिक्रम बेघा, प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)लगायत केही अध्यक्षहरुले निर्णय पुर्नविचार गर्न आग्रह गरेका थिए । उनीहरुले नगरपालिका विधि र प्रक्रियामा चल्नुपर्ने भन्दै मेयर साम्पाङलाई मन लाग्दा राख्ने, मन नलाग्दा जागिरबाट हटाउने शैली ठिक नभएको पनि बताएका थिए ।

उपमेयर बेघाले नगर प्रहरी सञ्चालन कार्यविधि बनाउनुपर्ने धारणा राखेका थिए । 'विष्णु कोइरालालाई वलि चढायौं चढायौं, अरु साथीहरु वलि चढ्नुहुदैन,' उनले भने,‘आदेश मुखले दिनुपर्ने हो कि के हो ? नियमसंगत कानुन सम्मत आदेश दिन मिल्छ, तर नियमभन्दा बाहिर गएका आदेशलाई कार्यान्वयन नगर्नेहरुलाई कारबाही गर्ने कुरा आयो भने के हुन्छ ?’

नगर प्रहरी प्रमुखलाई नहटाउन उपमेयर बेघाले आग्रह गरेपनि कार्यपालिका बैठक बस्नुअघिको प्रि मिटिङमा नै यो बिषयमा सहमति जुटिसकेको हुनाले यो बिषयमा कसैले पनि अडान भने लिएनन् । उपमेयर बेघाले प्रि मिटिङ नबस्ने अड्डी कसेका मेयर साम्पाङले आफ्नो माग अनुसार नै प्रिमिटिङ बसेको र आफुले भने अनुसार पुष्टि भएको भन्दै खुशी पनि व्यक्त गरेका थिए ।

वडा १७ का अध्यक्ष भट्टराईले विधि, पद्दती र प्रक्रियाबाट कर्मचारीहरु जागिर खाएको भन्दै नगर नेतृत्वलाई रिस उठ्दा, झोक चल्दा र जाली नकाट्दा जागिर गएको बताए । नगर प्रहरी प्रमुख कोइरालालाई निकाल्ने विवादले २ पटक नगरसभा रोकिएको भन्दै उनले विधि, पद्दतीबाहिर गएर नगर प्रहरी प्रमुखलाई निकाल्न सफल भएको भन्दै मेयर साम्पाङलाई बधाई पनि दिएका थिए ।

भिडियो :

भिडियो :